images
images

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्री बालेनको ढाडस: ‘विपद्बाट निराश नहोऔँ, सुरक्षित भविष्यका लागि सरकार खटिरहेको छ’

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाहरूलाई सम्बोधन गर्दै धैर्य र एकताका साथ अघि बढ्न ढाडस दिएका छन्।

चाडपर्वका दिन सबैतिर रमाइलो भइरहँदा बाढी प्रभावित क्षेत्रका नानीबाबुहरूले गहिरो पीडा भोग्नुपरेको उल्लेख गर्दै उनले विपद्को यस घडीमा सरकार बालबालिकाको सुरक्षित भविष्य निर्माणमा निरन्तर लागिपरेको बताए।

विपद्को १० औँ दिनसम्म आइपुग्दा १३ हजार ९५ जनाको सकुशल उद्धार भइसकेको जानकारी दिँदै प्रधानमन्त्री शाहले उद्धार कार्यमा बालबालिका, घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखिएको स्पष्ट पारे।

हाल होल्डिङ सेन्टरहरूमा बसिरहेका प्रभावितहरूका लागि चाँडै नै सुरक्षित तथा सहज बसोबासको प्रबन्ध मिलाइने प्रतिबद्धता पनि उनले व्यक्त गरे। उद्धार कार्यमा अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विज्ञ टोलीका साथै सहयोग पुर्‍याउने गैरआवासीय नेपाली, मित्र राष्ट्र र विकास साझेदारहरूलाई उनले धन्यवाद दिए।

जलवायु परिवर्तनको गम्भीर असर हिमाली क्षेत्रमा प्रत्यक्ष देखिन थालेको चर्चा गर्दै प्रधानमन्त्री शाहले नेपालले भोगेको यो संकटबारे विश्व समुदायलाई निरन्तर जानकारी गराएर उनीहरूलाई पनि जोखिम न्यूनीकरणमा जिम्मेवार बनाउनुपर्ने धारणा राखे।

यसका साथै उनले बालबालिकाहरूलाई पूर्वतयारीका उपायहरू सिकाउँदै औषधि, पानी र सुक्खा खानेकुरा भएको ‘विपद् झोला’ तयार राख्न, दैनिक सानो बचत गर्ने बानी बसाल्न र जलवायु परिवर्तनबारे अध्ययन तथा छलफल अघि बढाउन आह्वान गरे। विपद्को समयमा हार नखाई सबै मिलेर सुरक्षित र उज्यालो नेपाल निर्माणमा जुट्न उनले आग्रह गरे।