जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
ललितपुरमा सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको नीति, सिद्धान्त, विधान तथा निर्णयविपरीत गतिविधि गरेको भन्दै उनीहरूलाई निष्कासन गर्ने निर्णय गरेको हो ।
निष्कासित हुनेहरूमा रुपन्देही–३ (१) बाट निर्वाचित सन्तोषकुमार पाण्डेय, बाँके–२ (१) बाट निर्वाचित भण्डारीलाल अहिर, बाँके–२ (२) बाट निर्वाचित आदेशकुमार अग्रवाल र समानुपातिकतर्फकी हेमा बेल्वासे (केसी) रहेका छन् ।
पार्टीले १ भदौमा लुम्बिनी प्रदेशको वर्तमान सरकारलाई समर्थन नगर्ने र सरकारको विपक्षमा मतदान गर्न स्पष्ट निर्देशन दिएको थियो । तर, पार्टीको निर्देशनविपरीत उनीहरूले प्रदेश सरकारको पक्षमा मतदान गर्दै सरकारमा समेत सहभागी भएका थिए । सरकारको पक्षमा मतदान गरेपछि उनीहरूसँग यसअघि स्पष्टीकरण मागिएको थियो ।
उनीहरूले बुझाएको स्पष्टीकरण पार्टीको नीति, निर्णय तथा निर्देशनको भावनासँग मेल नखाएको र उठाइएका प्रश्नको चित्तबुझ्दो जवाफ नआएपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरीएको पार्टीका महासचिव डा. सुरेन्द्रकुमार झाले बताए ।
लुम्बिनी प्रदेशसभामा जसपा नेपालका पाँच जना सांसद छन् । तीमध्ये सन्तोषकुमार पाण्डेय र भण्डारीलाल अहिर चेतनारायण आचार्य नेतृत्वको सरकारमा मन्त्रीसमेत छन् ।








