images
images

खोज तथा उद्धार कार्यमा सरकार डटेर लागिरहेको छ : प्रधानमन्त्री शाह

काठमाडौँ- बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको जीवितै उद्धार भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सरकार खोज तथा उद्धार कार्यमा अझै दृढतापूर्वक लागिरहेको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले श्रेष्ठलाई सकुशल उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको उल्लेख गरे।

यसअघि पनि ज्येष्ठ नागरिकहरूलाई प्रभावित क्षेत्रबाट उद्धार गरिएको स्मरण गर्दै उनले विपद्को कठिन क्षणमा नातिनातिना च्यापेर ज्यान जोगाउन सफल भएका ज्येष्ठ नागरिकहरूको अदम्य साहसको प्रशंसा समेत गरे।

भोटेकोशीको बाढीले जनधन, घरबारी र परिवारका सदस्य गुमाउन पुगेका ज्येष्ठ नागरिकहरूको पीडालाई सरकारले गहिरोसँग महसुस गरेको प्रधानमन्त्रीले बताए। उनले बाढीका कारण विस्थापित बनेका वृद्धवृद्धाहरूलाई एक्लो नठान्न आग्रह गर्दै राज्य सधैँ साथमा रहने स्पष्ट पारे। हाल प्रभावित क्षेत्रका ज्येष्ठ नागरिकहरूलाई अस्थायी शिविर तथा होल्डिङ सेन्टरहरूमा राहत, स्वास्थ्य सेवा र आवासको प्रबन्ध मिलाइएको उनले जनाए।

यसैगरी, बाढीबाट क्षतिग्रस्त बनेको नुवाकोटस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेकामध्ये ७ जनालाई काठमाडौँको म्हैपीस्थित नेपाल सिनियर केयर र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको जानकारी उनले दिए।

आश्रयस्थलमा ह्वीलचियर, वाकर तथा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको र अस्थायी बसाइलाई छोट्याएर छिट्टै सुरक्षित स्थायी बसोबासको व्यवस्था मिलाइने उनले बताए।

आफ्नो ज्यान जोखिममा राखेर उद्धार कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्नु सबैको कर्तव्य भएको उनले उल्लेख गरे।

आफन्त गुमाएर पीडामा रहेका नागरिकहरूको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्ने बताउँदै उनले यस संवेदनशील घडीमा पीडितहरूमाथि अनावश्यक टिप्पणी गर्ने वा हियाउने काम गर्नेहरूविरुद्ध सरकार निर्मम रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन्।