images
images

राष्ट्रसङ्घ महासभा: अहिलेसम्मकै सानो टोलीसहित प्रधानमन्त्री बालेन अमेरिका जाँदै

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका जाने भएपछि नेपालबाट जाने टोलीको तयारी सुरु गरिएको छ । यसका लागि प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय आन्तरिक तयारीमा जुटेका छन् ।

सरकारले हालसम्म प्रधानमन्त्रीको भ्रमण कार्यक्रम औपचारिक रूपमा घोषणा नगरे पनि उनी महासभामा सहभागी हुने निश्चित भएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् । मन्त्रालयका अनुसार यसपटक विगतका तुलनामा निकै सानो टोली लिएर प्रधानमन्त्री अमेरिका जानेछन् । प्रधानमन्त्रीको टोलीमा १० देखि ११ जना मात्र रहने बताइएको छ । यसअघि परराष्ट्रमन्त्री खनालसँग जाने पाँच सदस्यीय टोलीबारे मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ ।

प्रधानमन्त्रीको टोलीमा उनका प्रमुख सल्लाहकार कुमार बेन, निजी सचिवहरू सुभाष शर्मा र प्रदीप पजियार, फोटोग्राफर विनय शाक्य र शिष्टाचार ९प्रोटोकल० प्रमुख रहने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । त्यस्तै, परराष्ट्रमन्त्री खनालको टोलीमा सचिव अमृतबहादुर राई, राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, परराष्ट्र मन्त्रालयको राष्ट्रसङ्घ मामिला हेर्ने सहसचिव कृष्णप्रसाद ढकाल र अधिकारी कुमारराज खरेल सहभागी हुनेछन् ।

महासभामा प्रधानमन्त्री बालेनले असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका तय भइसकेको छ । सम्बोधनको एक–दुई दिनअघि जाने र सम्बोधन लगत्तै फर्कने गरी भ्रमण तालिका बनाइँदै छ । यद्यपि, भ्रमणको मिति र सहभागीहरूको अन्तिम नामावलीबारे छलफल जारी रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि ७८औँ महासभामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ सदस्यीय टोलीको नेतृत्व गरेका थिए । त्यस्तै, ७९औँ महासभामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २२ सदस्यीय टोली सहभागी भएको थियो ।

८०औँ महासभाका समयमा भने नेपालमा जेनजी आन्दोलन चर्किएको र प्रधानमन्त्री सुशीला कार्कीको व्यस्तताका कारण उच्चस्तरीय टोली जान सकेको थिएन । त्यतिबेला स्थायी प्रतिनिधि लोकबहादुर क्षेत्रीले नेपाली टोलीको नेतृत्व गरेका थिए ।

८१औँ महासभामा पनि सुरुमा परराष्ट्रमन्त्रीले नै नेतृत्व गर्ने तय भएको थियो । तर, भदौ १० गते रसुवाको भोटेकोशीमा आएको हिमबाढीपछि प्रधानमन्त्री बालेनले भ्रमणका लागि अग्रसरता देखाएका हुन् । उनले महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको विपद्बारे विश्व समुदायको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्रीस्तरबाटै सम्बोधन हुँदा जलवायु परिवर्तनको मुद्दा थप प्रभावकारी हुने सल्लाह पाएपछि बालेन अमेरिका जान तयार भएको जानकारहरू बताउँछन् ।