काठमाडौं — भोटेकोशी बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा तथा बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै बेस्ट बालाजु युवा क्लबले बालाजुमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।
सोमबार साँझ बालाजु चोकमा आयोजित कार्यक्रममा बाढीका कारण दिवंगत भएकाहरूको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो। साथै बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारप्रति साथ र समर्थन रहेको सन्देशसमेत दिइएको थियो।
कार्यक्रममा काठमाडौं महानगरपालिका–१६ की वडा अध्यक्ष रोजिना श्रेष्ठसमेत सहभागी भएर दीप प्रज्वलन गर्नुभएको थियो। उहाँले विपद्को दुःखद घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सहयोग र एकताको भावना आवश्यक रहेको बताउनुभयो।
क्लबका अध्यक्ष जीवन अधिकारीले भोटेकोशीमा भएको दुःखद घटनाले आफूहरूलाई निकै मर्माहत बनाएको बताउनुभयो। यस्तो घटना फेरि नदोहोरियोस् भन्ने कामनासहित अकालमै ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्न र पीडित परिवारप्रति आफूहरूको साथ रहेको सन्देश दिन कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो।
दीप प्रज्वलनमा सहभागीहरूले मौन भावमा दीप बाल्दै दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रममार्फत बेस्ट बालाजु युवा क्लबले “विपद्मा परेका नेपाली एक्ला छैनन्” भन्ने मानवीय सन्देशसमेत प्रवाह गरेको छ।

“हामी सबै नेपाली हौँ, एकअर्काको साथमा हौँ” भन्ने भावनासहित सम्पन्न कार्यक्रमले भोटेकोशी बाढीपीडितप्रति बालाजु क्षेत्रको ऐक्यबद्धता र सहानुभूति प्रकट गरेको छ।








