images
images

लायन्स क्लब अफ हेरिटेज धरहराद्वारा दीप प्रज्वलन

काठमाडौं -लायन्स क्लब अफ हेरिटेज धरहराले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाप्रति  चिरशान्तिको कामना गर्दै स्वयम्भूनाथमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

दिवंगत आत्माप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरूले मृतकहरूको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थिए। साथै, सोही दुर्घटनामा बेपत्ता भएका क्लबका सदस्य पदमबहादुर मगरको शीघ्र खोजी भई सकुशल परिवारको सम्पर्कमा आउन सकून् भन्ने कामनासमेत गरिएको थियो।

कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरूका साथै स्थानीयको सहभागिता रहेको थियो। सहभागीहरूले दुःखको यस घडीमा पीडित परिवारसँग ऐक्यबद्धता जनाउँदै पदमबहादुरको खोजी कार्यलाई तीव्रता दिन सम्बन्धित निकायसँग आग्रह गरेका थिए।

लायन्स क्लब अफ हेरिटेज धरहराका पूर्व अध्यक्ष तथा लायन्स क्लब इन्टरनेसनल, डिस्ट्रिक्ट ३२५ K का चीफ एक्जिक्युटिभ लायन शक्ति श्रेष्ठले दिवंगतप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति ऐक्यबद्धता जनाउन दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको बताउनुभयो।