images
images

बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्य अन्तिम समयसम्म जारी रहन्छ: प्रधानमन्त्री शाह

काठमाडौँ — रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा भोटेकोशी नदीको बाढीले पुर्‍याएको ठूलो क्षतिपछि बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्य अन्तिम समयसम्म निरन्तर जारी रहने प्रधानमन्त्री बालेन्द्र शाहले स्पष्ट पारेका छन्।

भदौ १० गते लाङटाङ हिमालको करिब ५६ सय मिटर उचाइबाट खसेको हिमपहिरोपछि आएको लेदोसहितको भीषण बाढीले रसुवागढी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली १, त्रिशूली ३ ‘ए’ तथा त्रिशूली ३ ‘बी’ लगायतका आयोजनाहरूमा जनधनको ठूलो क्षति पुर्‍याएको सन्दर्भमा प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत पछिल्लो वस्तुस्थिति सार्वजनिक गरेका हुन्।

प्रधानमन्त्री शाहका अनुसार बाढीका कारण सुरुङ तथा संरचनाहरू पुरिएपछि खोज तथा उद्धार कार्य अत्यन्तै चुनौतीपूर्ण बनेको छ। रसुवागढीमा हेलिकप्टरमार्फत मिनी एस्काभेटर पुर्‍याएर खोजी भइरहेको छ भने लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा ग्यास वेल्डिङबाट प्वाल पारेर प्रवेश गर्दा २ वटा शव फेला परेका छन्।

त्यसैगरी, नेपाली सेना र भारतीय विशेषज्ञ टोलीको संयुक्त प्रयासमा चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट दलदल पन्छाउँदै करिब ९० मिटर भित्रबाट २ वटा शव निकालिएको छ।

माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा नेपाली सेना, चिनियाँ तथा कोरियन विशेषज्ञ टोलीले थर्मल ड्रोनको सहयोगमा खोज जारी राखेको छ। त्यहाँ हालसम्म १ जनाको जीवितै उद्धार गरिएको छ भने ३ वटा शव फेला परेको विवरण प्राप्त भएको छ।

उता नुवाकोटस्थित त्रिशूली ३ ‘ए’ मा काठमाडौँ–तराई द्रुतमार्गबाट विस्फोटक पदार्थ र नागढुंगा सुरुङबाट कम्प्रेसरसहितका विशेष उपकरण हेलिकप्टरमार्फत पुर्‍याएर सुरुङ खोलिएको थियो, जहाँबाट भदौ १९ गते २ जनालाई सकुशल उद्धार गर्नुका साथै १ जनाको शव फेला पारिएको थियो।

यसैगरी त्रिशूली ३ ‘बी’ आयोजनाको अडिट सुरुङभित्र १.७ किलोमिटर प्रवेश गर्दा एउटा गाडी भेटिएको छ भने १५ मिटर गहिराइसम्म पुरिएका ६ वटा आवासीय तथा १ वटा कार्यालय भवन खोतल्न उत्खनन कार्य भइरहेको छ।

प्रधानमन्त्री शाहले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विदेशी प्राविधिक विशेषज्ञहरूको टोली जोखिम मोलेरै परिचालित भइरहेको उल्लेख गर्दै राज्यले स्रोत र साधनको सीमाका बाबजुद आफ्ना नागरिकको खोज तथा उद्धारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।