images
images

रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा, ठूला सवारी दुईतर्फी चल्ने

काठमाडौं– त्रिशूली–बेत्रावती सडकखण्ड क्षतिग्रस्त भएपछि रसुवासँग यातायात सम्पर्क कायम राख्न सञ्चालनमा ल्याइएको वैकल्पिक सडक अब ठूला सवारीसाधनका लागि समेत दुईतर्फी सञ्चालन गर्न सकिने भएको छ।

ढिकुरे–फेदीबेसी चोक–हिरामुनिटार–चोगते–बोरे भञ्ज्याङ–सानो खोला–धनस्वारा–पाटिखर्क–भोर्ले–जिबजिबे–बोगटीटार हुँदै कालिकास्थान–धुन्चे जोड्ने सडकको बोरे भञ्ज्याङ–सानो खोला–धनस्वारा–पाटिखर्क खण्डमा सडक सुधारको काम पूरा भएपछि ठूला सवारी सञ्चालन गर्न सकिने भएको हो।

उक्त खण्डमा पहिरो हटाउने, सडक सतह मिलाउने, कच्ची नाली बनाउने, साँघुरा स्थान चौडा पार्ने, ग्राभेल राख्ने तथा कल्भर्ट निर्माणलगायतका काम गरिएको छ। निर्माण तथा मर्मतका लागि एक्साभेटर, ब्याकहो लोडर र टिपर प्रयोग गरिएको थियो।

rasuwaroad-1788791334.jpeg
यसअघि काठमाडौं–टोखा–छहरे–चौघडा पुल–बाहुनबेसी–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटिखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकमा चारपाङ्ग्रे साना सवारी मात्र सञ्चालन हुँदै आएका थिए।

अब पाटिखर्कसम्म पुग्न दुई वैकल्पिक मार्ग उपलब्ध भएका छन्। जाँदा फेदीबेसी–हिरामुनिटार–चोगते–बोरे भञ्ज्याङ–सानो खोला–धनस्वारा हुँदै पाटिखर्क र फर्किँदा पाटिखर्क–लच्याङ–नर्जा–आप्र–बाहुनबेसी–चौघडा पुल हुँदै मध्यपहाडी राजमार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

एकतर्फी रूपमा फरक–फरक मार्ग प्रयोग गर्दा सवारी आवागमन सहज हुनुका साथै सडकमा हुने जामसमेत घट्ने अपेक्षा गरिएको छ।