काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले राजनीतिमा नयाँ पुस्ता सिक्न नभई सिकाउन आएको दाबी गरेका छन्।
जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले नयाँ पुस्ता पुरानो राजनीतिक शैली सिक्न नभई त्यसलाई सच्याउन आएको बताएका हुन्।
नयाँ पुस्ताको सरकारले पुरानो राजनीतिक संस्कारलाई परिवर्तन गर्ने उनको भनाइ छ। वर्तमान सरकारले जनतालाई शासन गर्ने नभई सेवा गर्ने राजनीतिक संस्कार विकास गर्ने उनले बताए।
पुरानो पुस्ताले जनतामाथि राज मात्रै गरेको उल्लेख गर्दै उनले नयाँ पुस्ताले जनताको सेवा गर्ने बताए। उनले नयाँ पुस्ता सरकारमा टिका लगाएर नभई निर्वाचनमा दुई तिहाइ मत ल्याएर आएको बताए।
उनले आफूहरूलाई राजनीति, संस्कार र सरकार चलाउन नसिकाउन पुराना दललाई आग्रह गरे। आफूहरूको बोली, शैली वा काम गर्ने तरिका कतिपयलाई असहज लाग्न सक्ने भए पनि गलत काम नगर्ने उनको दाबी छ।
उनले नेपाललाई स्वीट्जरल्याण्ड वा सिंगापुर बनाउने नभई आफ्नै पहिचानसहितको नेपाल निर्माण गर्ने बताए। उनले सरकारको कामप्रति विश्वास गर्न नागरिकलाई आग्रहसमेत गरे।







