काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेन–जी आन्दोलनका शहीद तथा घाइतेहरूको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकारप्रति भरोसा राख्न आग्रह गरिन्। उनले जेन–जी आन्दोलनका माग सम्बोधन गर्न दैनिक छलफल भइरहेको बताइन्।
लोकतन्त्रमा पनि गत भदौ २३ गते नागरिकमाथि गोली चलेको उल्लेख गर्दै अब त्यस्तो नियति कसैले भोग्न नपर्ने बताइन्। उनले शहीद परिवार, घाइते तथा आन्दोलनसँग जोडिएका सबैलाई एक ठाउँमा आएर एकअर्कालाई सहयोग गर्न र ढाडस दिन पनि आग्रह गरिन्।
जेन–जीभित्रै विभाजन र दोषारोपण बढेमा आन्दोलनका विरोधीहरूले त्यसको फाइदा उठाउने उनको भनाइ छ। आन्दोलनपछि भएको निर्वाचनमार्फत नेपाली जनताले आफ्नो नेतृत्व रोजेकोले वर्तमान सरकार जनताको आवाज सुन्न तयार रहेको बताइन्।
सरकार गठन भएको करिब पाँच महिना मात्र भएको बताउँदै उनले यस अवधिमा सरकार सञ्चालन सहज नभएको उल्लेख गरिन्। सरकारसँग प्रतिनिधिसभामा पर्याप्त संख्या भए पनि कानुन निर्माणलगायतका प्रक्रियामा संवैधानिक संरचनाका कारण चुनौती रहेको उनको भनाइ छ।
उनले माग सम्बोधनमा ढिलाइ हुँदा जेन–जी समुदायको धैर्य टुट्ने अवस्था आउनसक्ने स्वीकार गर्दै संयम कायम राख्न आग्रह गरिन्। सरकारले जेन–जी आन्दोलनका शहीद तथा घाइतेले देखेका सपना पूरा गर्न सरकारको सफा नियतका साथ काम गरिरहेको उनको दाबी छ।
उनले देशमा भइरहेको भ्रष्टाचार र सशासनविरुद्ध आवाज उठाउँदा गोली खानुपरेको बताइन्। भदौ २३ गते आन्दोलनकारीमाथि राज्यले गरेको दमनका कारण भदौ २४ गतेको घटना निम्तिएको उनको भनाइ छ। भदौ २३ र २४ गतेको घटनालाई एउटै रुपमा हेर्न नहुने उनले बताइन्।







