काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन एनसेलले स्याटेलाइट प्रविधिमा आधारित निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ।
आपत्कालीन अवस्थामा समेत सञ्चार सम्पर्क अवरुद्ध नहोस् भन्ने उद्देश्यले एनसेलले युटेलस्याटको लो अर्थ अर्बिट (LEO) स्याटेलाइटबाट सञ्चालित उपकरणहरू प्रभावित क्षेत्रमा जडान गर्न थालेको जनाएको छ।
उद्धार, राहत तथा पुनःस्थापना कार्यमा संलग्न सम्बन्धित सरकारी निकायसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण तथा आवश्यक स्थानमा यस्ता उपकरण जडान भइरहेको कम्पनीले जनाएको छ। सञ्चार सञ्जाल अवरुद्ध भएको अवस्थामा समेत स्याटेलाइटमार्फत इन्टरनेट सेवा उपलब्ध गराउन सकिने एनसेलको भनाइ छ।
कम्पनीका अनुसार बाढी प्रभावित समुदाय, होल्डिङ सेन्टर, राहत वितरण केन्द्र, अस्थायी शिविर तथा आपत्कालीन कार्य सञ्चालन हुने स्थानमा हाल निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइँदैछ। हालसम्म नुवाकोटका तीन महत्त्वपूर्ण स्थानमा सेवा सञ्चालनमा ल्याइएको छ भने अन्य बाढी प्रभावित क्षेत्रमा समेत उपकरण जडानको काम भइरहेको छ।
स्याटेलाइटबाट सिधै इन्टरनेट
एनसेलका अनुसार यो प्रविधिमा जमिनमा जडान गरिएको उपकरणले स्याटेलाइटबाट इन्टरनेट सिग्नल प्राप्त गर्छ। त्यसपछि उक्त उपकरणमार्फत आसपासका क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराइन्छ।
साधारण इन्टरनेट तथा मोबाइल सेवा उपलब्ध नभएको अवस्थामा समेत यस प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ। स्याटेलाइट प्रविधिबाट उच्च गति तथा कम विलम्बता भएको कनेक्टिभिटी उपलब्ध हुने एनसेलको दाबी छ।
यसबाट सन्देश आदानप्रदान, इन्टरनेटमा आधारित कल, महत्त्वपूर्ण सूचना प्राप्त गर्न, ब्राउजिङ गर्न तथा उद्धार र राहत कार्यको समन्वय गर्न सहज हुने कम्पनीले जनाएको छ।
एनसेलले उक्त सेवा सञ्चालनका लागि नेपाल दूरसञ्चार प्राधिकरणलगायत सम्बन्धित सरकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरिसकेको जनाएको छ।
एनसेलका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्ली राम श्रेष्ठले सडक पूर्वाधार र सञ्चार सेवा गम्भीर रूपमा प्रभावित भएको नुवाकोटका तीन स्थानमा स्याटेलाइट सञ्चार पहुँच स्थापना गरिएको बताए।
“यसले उद्धार तथा राहत कार्यलाई सहज बनाउनुका साथै प्रभावित स्थानीयवासीलाई यो कठिन समयमा सम्पर्कमा रहन मद्दत गर्नेछ,” उनले भने।
३ लाखभन्दा बढी प्रभावित ग्राहकलाई निःशुल्क सेवा
बाढी प्रभावित क्षेत्रमा पहिलो दिनदेखि नै एनसेलले ३ लाखभन्दा बढी प्रभावित ग्राहकलाई हरेक दिन निःशुल्क भ्वाइस, डाटा तथा एसएमएस सेवा प्रदान गर्दै आएको जनाएको छ।
त्यस्तै, एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उद्धार, राहत तथा पुनःस्थापना कार्यका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग गरिएको कम्पनीले जनाएको छ।
एनसेलका अनुसार आपत्कालीन अवस्थामा एकअर्कासँग सम्पर्कमा रहनु अत्यावश्यक हुने भएकाले प्रभावित क्षेत्रमा स्याटेलाइटमार्फत इन्टरनेट सेवा उपलब्ध गराइएको हो। सडक अवरुद्ध हुनुका साथै फाइबरमा क्षति पुगेका कारण सञ्चार सेवा प्रभावित भएको अवस्थामा यस्तो कनेक्टिभिटी सुविधा उद्धार तथा राहतका लागि मात्र नभई जीवनरक्षाका लागि समेत महत्त्वपूर्ण हुने कम्पनीको भनाइ छ।
दूरसञ्चार सेवा उपलब्ध नभएको आपत्कालीन अवस्थामा सबैलाई सम्पर्कमा राख्न सम्भव सबै उपाय अपनाउन केन्द्रित रहेको एनसेलले जनाएको छ। प्रभावित समुदायका लागि आवश्यक सञ्चार तथा कनेक्टिभिटी खुला राख्न कम्पनी प्रतिबद्ध रहेको बताइएको छ।









