काठमाडौँ – कांग्रेस नेता शेरबहादुर देउवाले पार्टीको आधिकारिकता आफ्नो पक्षले पाउने दाबी गरेका छन्।
११६औँ बिपी जन्मजयन्तीका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा निवर्तमान सभापति समेत रहेका देउवाले गगनले जालझेल गरेर विशेष महाधिवेशन गरेकाले आफ्नो पक्षले आधिकारिकता पाउने जिकिर गरेका हुन्।
‘कांग्रेसको विधानमा विशेष महाधिवेशन बोलाउने प्रावधान छ । विशेष अधिवेशन पार्टीले बोलाउने हो । सुवर्णशमशेर पार्टी सभापति हुँदा बीपी कोइरालासहितको सहमतिमा विशेष महाधिवेशन बोलाइएको थियो,’ देउवाले भने, ‘यसपटक पूरा सनाखत गराएर महाधिवेशन गराएको छैन । को–के हो ? को–हो ? कहाँको हो ? नभनी गगन थापाले विशेष महाधिवेशन बोलाउनुभयो । विशेष महाधिवेशनमा भाग लिने को हो ? सूचना त पाउनुपर्याे नि ? कुन जिल्लाको क्षेत्रको को हो ? सनाखत गर्नुपर्दैन ?’
आफूले सनाखत गराउन भने पनि थापाले हुन्छ दाइ मात्रै भनेको दाबी उनले गरे । तर, विशेष महाधिवेशन गरे पनि सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने उनले बताए । सर्वाेच्चले निस्सा दिएपछि कांग्रेसकाे चारतारे झण्डाकाे आधिकारिकता पनि आफूहरूलाई दिने उनकाे भनाइ छ ।








