images
images

उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन-उद्योगमन्त्री गौरी यादव

काठमाडौं – उद्योगमन्त्री गौरी यादवले मुलुकमा देखिएको ग्यास अभावको सम्पूर्ण दोष कर्मचारीतन्त्र र मिलिभगतमा चल्ने ग्यास उद्योगीहरूको टाउकोमा थोपर्दै आक्रामक रूपमा असन्तुष्टि पोख्नुभएको छ ।

उद्योग समितिको बैठकमा कडा आक्रोश व्यक्त गर्दै उहाँले कर्मचारीहरूले आफूलाई पूर्ण रूपमा असहयोग गरेको र उद्योगीहरूको इसारामा चल्दै कानुनसमेत उनीहरुकै अनुकूल बनाउने गरेको गम्भीर आरोप लगाउनुभएको छ ।

ग्यास उद्योगहरूको संख्याप्रति कडा असन्तुष्टि जनाउँदै मन्त्री यादवले भन्नुभयो,‘हामीसँग ५८ वटा ग्यास उद्योग छन्, अब ५९ वटा बनाउने हो कि होइन? हाम्रो जस्तो देशमा दुईवटाभन्दा बढी ग्यास उद्योग चाहिएको छैन, साँच्चिकै सोध्नुहुन्छ भने धेरैमा दुइटा मात्रै राखेर बाँकी सबै खारेज गर्नुपर्छ ।’ उद्योगीहरूलाई हात जोडेर आपूर्ति सहज बनाउन आग्रह गरे पनि त्यसले काम नगरेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, ूहात जोडेर नहुँदोरहेछ भनेर बुझियो, अब ती उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन ।’

कर्मचारीतन्त्रको कार्यशैलीप्रति आक्रामक रूपमा खनिनुभएकी मन्त्री यादवले विधेयक संशोधनका लागि पटक–पटक निर्देशन दिँदा पनि कर्मचारीहरूले अटेर गर्ने गरेको बताउनुभयो । ‘तपाईँ विधेयक बनाउन भन्नुहुन्छ, कर्मचारीहरू सबै उद्योगीलाई राखेर उनीहरूको हिसाबले देश चलाउने कानुन बनाउँछन् । ‘भन्दा ‘हुँदैन, मिल्दैन हजुर’ भन्छन्,’ उहाँले बैठकमा भन्नुभयो । लोकतन्त्रको सुदृढ सरकारको दाबी गरे पनि एक्लैले कर्मचारीतन्त्रको पर्खाल तोड्न नसकेको दुःख व्यक्त गर्दै उहाँले लोकसेवा पास गरेर आएका कर्मचारीहरूको ‘ब्रेन’ गलत दिशामा लागेको टिप्पणी गर्नुभयो ।

देशहितभन्दा पनि उद्योगीहरूको फाइदाका लागि कानुन निर्माण गर्ने परिपार्टीले गर्दा नेपालमा उद्योगधन्दा खुल्ने वातावरण नै नभएको उहाँको ठम्यााइ छ । नीति परिवर्तन गर्न खोज्दा आफू एक्लै उद्योगीहरूको आँखाको तारो र टार्गेट बनेको उल्लेख गर्दै मन्त्री यादवले भन्नुभयो, ‘म यो देशलाई हाँसेको हेर्न चाहन्छु, तर कर्मचारीले साथ नदिएसम्म तपाईं केही पनि गर्न सक्नुहुन्न । अब पार्टीभन्दा माथि उठेर देशको लागि सोच्नुपर्ने बेला आएको छ।’