काठमाडौँ – रास्वपा सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीपछि सडक र सीमा नाका अवरुद्ध हुँदा मुलुकमा आपूर्ति संकट र महँगीको जोखिम बढेको भन्दै सरकारलाई सचेत गराएकी छन् ।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले बाढीले सडक र पुल मात्र नभई हजारौँ नागरिकको घरबार, जीविकोपार्जन र बाँच्ने आधारसमेत खोसिएको बताइन् ।
उनले विपत्तिबाट नागरिक सामान्य अवस्थामा फर्किन नपाउँदै आपूर्ति व्यवस्थामा अर्को संकट देखिन थालेको उनको भनाइ थियो । तातोपानी र रसुवागढी नाका बन्द हुनुका साथै बीपी राजमार्ग र पृथ्वी राजमार्गको कृष्णभीर अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको ढुवानी प्रभावित भएको अधिकारीले उल्लेख गरिन् ।
वैकल्पिक रूपमा कोरला नाका प्रयोग गर्नुपर्ने अवस्था आए पनि लामो भौगोलिक दूरी र जीर्ण सडकका कारण ढुवानी खर्च पाँच गुणासम्म बढेको अधिकारीले बताइन् । यसको प्रत्यक्ष असर चाडपर्वको समयमा बजार मूल्यमा पर्न सक्ने भन्दै उनले सरकारलाई समयमै आवश्यक कदम चाल्न आग्रह गरिन् ।
‘वैकिल्पक नाका कोरलातर्फको भौगोलक दूरी र जीर्ण सडकले ढुवानी खर्च पाँच गुणासम्म महँगो छ । यसले चाडवाडमै उपभोग्य वस्तुको भाउ आकासिने निश्चत छ’, उनले भनिन्, ‘सरकारले बेलैमा ध्यान नदिए इन्धन, खाद्यान्न जस्ता अत्यावश्यक वस्तुको अभाव हुनेछ । कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धको मारमा गरिब नागरिक नै पर्नेछन् ।’
सम्बिन्धत मन्त्रालयहरूबीच तत्काल समन्वय गरी नाकाहरू युद्धस्तरमा खुलाउन तथा आपूर्ति सहज बनाएर नागरिकलाई अभाव र महँगीको मारबाट जोगाउन माग गरिन्।








