काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जोखिम उठाएरै पार्टीको महाधिवेशन ठिक समयमा गर्ने बताएका छन् ।
राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू गिरिजाप्रसाद कोइरालाको कार्यकर्ता भएकाले कहाँ जोखिम उठाउनुपर्छ भन्ने राम्रोसँग थाहा भएको बताएका छन् ।
पार्टी महाधिवेशनबारे अलमलमा नपर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै महाधिवेशन एक घण्टा पनि नसर्ने दाबी गरे ।
नरम हुनुपर्ने ठाउँमा नरम निर्मम हुनु पर्ने ठाउँमा निर्मम भएर महाधिवेशन गर्ने उनको गर्जन थियो । ‘पार्टीभित्रको फोहोर सफा गर्ने कुरामा निर्मम हुने हो। पार्टीभित्रको एकता बनाउनको लागि नरम हुने हो’ उनले भने ।
थापाले केही दिनमै कांग्रेसको अधिवेशन प्रारम्भ हुने जानकारी दिए ।
‘असोज ३ र ४ गतेबाट वडा अधिवेशन हुन्छ। असोजको १६ गतेबाट महाधिवेशनको प्रक्रिया सुरु हुन्छ। तिथिमिति कहीँ कतै सर्छ कि भनेर साथीहरूले अलमल राखेको पाए। संविधान, पार्टीको विधान र अदालतको फैसलाले हामी बाँधिएका छौँ’ उनको भनाई थियो ।
महाधिवेशनमा भाग लिन कसैलाई वञ्चित नगरिने उल्लेख गर्दै उनले भने – ‘महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ, जित्ने साथीहरू नेतृत्वमा रहनुहुन्छ।’








