काठमाडौँ- नेपाल चलचित्र कलाकार सङ्घले बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु पाँच लाख २५ हजार ५२५ सहयोग गरेको छ ।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको उपस्थितिमा सङ्घका अध्यक्ष उत्तम केसीले आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई सिंहदरबारमा उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि कलाकारहरूबाट रकम सङ्कलन गरी कोषमा जम्मा गरिएको सङ्घले जनाएको छ ।
सङ्घका अध्यक्ष केसीले बाढी प्रभावित क्षेत्र नुवाकोटका जनप्रतिनिधिका रूपमा मन्त्री तिमिल्सिनाले खेलेको भूमिकाको प्रशंसा गर्दै चलचित्र क्षेत्रका विभागीय मन्त्रीको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको बताउनुभयो ।
सङ्घका निवर्तमान अध्यक्ष मोहन निरौलाले नेपाल चलचित्र कलाकार सङ्घको स्थापना सामाजिक सेवाको भावनासहित भएको उल्लेख गर्दै सङ्घले आफ्नो सामाजिक उत्तरदायित्व निरन्तर रूपमा पूरा गर्दै आएको बताउनुभयो । कठिन समयमा सरकारसँग एकताबद्ध हुँदै प्रभावितलाई सहयोग गर्ने उद्देश्यले कलाकारहरूबाट रकम सङ्कलन गरिएको उहाँको भनाइ थियो ।
सङ्घका अनुसार जेनजी सहिद दिवस तथा नेपाल चलचित्र कलाकार सङ्घको ३८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमबाट सङ्कलित रकम हस्तान्तरण गरिएको हो । रासस








