काठमाडौँ – भोटेकोशी त्रिशुली नदिमा आएको बाढीमा हजारौँ बगे। खर्बौको सम्पत्ति तहन नहस भयो। सरकारी तहबाट खोज तथा उद्धारको काम भइरहेको छ।
बाढी गएको १८ दिन बितिसक्दा समेत केही जलविद्युत् आयोजनाको सुरुङमा उद्धारको काम चलिरहेको छ। तर विभिन्न काम विशेषले त्रिशुली नदी आसपास पुगेर बेत्तपा भएकाहरुलाई आफन्तले आशा मार्ने क्रम बढ्दै गएको छ।
बाढीमा परेका हराइ रहेका आफन्त भेटिने आशले १०/११ दिनसम्म कुरे पनि त्यसपछि भने आफन्तले आश मार्दै हिन्दू धर्म संस्कृतिअनुसार कुशको शव बनाएर अन्त्यष्टि गर्ने क्रम चलिरहेको छ।
पशुपतिस्थित आर्यघाटमा पनि दैनिक २० जनाको कुशको शव बनाएर अन्त्यष्टि भइरहेको घाट व्यवस्थापन समितिले जनाएको छ। बाढीमा ५० भन्दा बढी जिल्लाका मानिसहरु हराएका छन्।
केहीले आफ्नै वास स्थानमा अन्तिम संस्कारको काम गरे पनि पशुपतिमै पुगेर २० हाराहारीको कुशको शव बनाएर दाह संस्कार भइरहेको छ।
आइतबार शिलापत्र मिडिया नेटवर्कका प्रकाशक सुरेश सिम्खडा र उनको परिवारको पनि कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ। कैलाश मानसरोवर यात्रामा जाने क्रममा सिम्खडा आमा गोमा र दिदी शारदासँगै हराएका थिए।
सरकारी तथ्यांकअनुसार आइतबार दिउँसोसम्म बाढीमा परेर मृत्यु हुनेको संख्या १ हजार ३८८ पुगेको छ। नेपाल प्रहरीले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार ५४२ पुरुष, ३३४ महिला र ५१२ आंशिक अंगसहित १ हजार ३८८ जनाको शव फेला परेको छ।
बाढीमा परेर अझै पाँच हजार भन्दा बढी व्यक्तिहरु हराइ रहेका छन्। कुशको शव बनाएर दाहसंस्कार गरिनेमा शव फेला नपरेका हुन्।








