images
images

हामीले पश्चिमाको नक्कल गरेका छौँ, अब चीनबाट सिक्दै आफ्नै विकास मोडल बनाउनुपर्छः झलनाथ

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालले चीनबाट सिक्दै आफ्नै नयाँ विकास मोडल र समाजवाद निर्माण गर्नुपर्ने बताएका छन्।

काठमाडौँमा आयोजित तेस्रो संस्करणको काष्ठमण्डप संवादको आइतबार समापन गर्दै उनले चीनले सन् १९४९ को क्रान्तिपछि हासिल गरेको राजनीतिक स्थिरता र विकासबाट नेपालले महत्वपूर्ण शिक्षा लिनुपर्ने बताएका हुन्।

चीनले स्थिरतालाई विकासको पहिलो र प्राथमिक शर्तका रूपमा लिएको उल्लेख गर्दै उनले नेपालमा पनि दिगो स्थिरताको आधार निर्माण गर्नु चुनौतीपूर्ण रहेको बताए। स्थिरताबिना दीगो विकास सम्भव नहुने उनको भनाइ छ।

चीनले आफ्नो राजनीतिक, आर्थिक र सामाजिक विकासका लागि अन्य देशको मोडलको नक्कल नगरी आफ्नै देशको विशेषताअनुसार बाटो तय गरेको उनले बताए। नेपालले पनि परिवर्तन र रूपान्तरणका क्रममा नेपाली विशेषताअनुसारको मोडल विकास गर्नुपर्ने उनको भनाइ छ।

खनालका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीले क्रान्तिका क्रममा उपलब्ध अन्य मोडललाई जस्ताको तस्तै अनुकरण नगरी चिनियाँ विशेषताअनुसारको बाटो विकास गरेको थियो। समाजवाद निर्माणमा पनि चीनले सोभियत संघ तथा पूर्वी युरोपका मुलुकहरूको मोडलको हुबहु अनुकरण नगरेको उनले बताए।

चीनले विकास गरेको राजनीतिक प्रणाली र शासन व्यवस्थाबाट नेपालले सिक्नुपर्ने भए पनि चिनियाँ मोडलको प्रत्यक्ष अनुकरण गर्न भने नहुने उनको भनाइ छ।

नेपालले आफ्नै इतिहास, संस्कृति र सामाजिक विशेषतामा आधारित राजनीतिक तथा विकासको मोडल निर्माण गर्नुपर्नेमा उनले जोड दिए। हाल नेपालले पश्चिमा लोकतन्त्रको ठाडो नक्कल गरेको उनको आरोप छ।