काठमाडौँ– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको विवाद समाधानका लागि संस्थापन पक्षले गम्भीर सहमतिको प्रयास नगरेको आरोप लगाएका छन्।
उनले ठोस राजनीतिक पहल गर्नुभन्दा सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत प्रचार गर्ने काम मात्रै भएको आरोप लगाएका हुन्। सोमबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा महतले पार्टीभित्रको विवाद समाधानका लागि आफूहरूसँग ठोस रूपमा संवाद र सहमतिको पहल नभएको बताए।
कांग्रेसले असोज ३ गते हुने वडा अधिवेशनमा सहभागी भए १४औँ महाधिवेशनबाट निर्वाचित भएर हाल बाहिर रहेका नेताहरूलाई विशेष अधिवेशनमा समेट्ने निर्णय गरेको छ। महतले उक्त प्रस्तावलाई अपमानजनक भन्दै पार्टीमा योगदान गरेका नेताहरूलाई कसैको व्यक्तिगत निगाहमा स्थान दिने कुरा स्वीकार्य नहुने बताए।
उनले भने, ‘हामी केन्द्रीय सदस्य भयौँ भनेर पार्टीमा लागेका होइनौँ। नेपाली कांग्रेसको मूल्य, मान्यता र संस्कार छ। १४ औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई अहिले आएर अधिवेशनमा सहभागी भए मात्रै केन्द्रीय सदस्य बन्न सक्नुहुन्छ भन्नु घाउमा नुन छर्किएजस्तो हो।’
महतले अदालतमा विचाराधीन प्रक्रियालाई पर्खिनुपर्ने वा राजनीतिक सहमतिका लागि अधिवेशन प्रक्रिया स्थगित गरेर समाधान खोज्नुपर्ने विकल्प आफूहरूले अघि सारे पनि संस्थापन पक्षले दुवै विकल्प अस्वीकार गरेको आरोप लगाए।
उनले राजनीतिक सहमति हुने अवस्था बने अदालतमा गरिएको पुनरवलोकनको निवेदन फिर्ता लिन आफूहरू तयार रहेको बताए। तर, त्यसका लागि पहिले अधिवेशन प्रक्रिया स्थगित गरी राजनीतिक सहमतिको वातावरण बनाउनुपर्ने उनको भनाइ छ।
उनले भने, ‘पहिला राजनीतिक रूपमा सहमति हुनुपर्यो। एकताको महाधिवेशन गरेर जाने वातावरण बन्नुपर्यो। त्यसपछि अदालतको प्रक्रिया फिर्ता लिने कुरा हुन्छ।’
महतले कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन देशभरका नेता तथा कार्यकर्तालाई आह्वानसमेत गरे। उनका अनुसार असोज १५ गतेदेखि सुरु हुने वडा अधिवेशन हुँदै मंसिर २१, २२ र २३ गते महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको छ। उनले आफूहरू अर्को पार्टी निर्माण गर्ने पक्षमा नरहेको भन्दै ‘नेपाली कांग्रेसकै महाधिवेशन’ गर्न लागेको दाबी गरे।
१४औँ महाधिवेशनबाट निर्वाचित समितिको नेतृत्वमा अधिवेशन आयोजना भइरहेको भन्दै उनले पार्टीको मूल भावना र आत्मा जोगाउन सबै कांग्रेसजनलाई सहभागी हुन आग्रह गरे।







