विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार सिंहलाई सफाइ दिने फैसला गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्कैकी छोरीलाई आफ्नी छोरी भन्दै झुटा कागजात तयार गरी नागरिकता दिलाएको आरोपमा मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
मुद्दामा सिन्धुपाल्चोककी रिता भट्टराई, वीरगञ्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय र तत्कालीन कार्यवाहक वडाध्यक्ष तुफैल अख्तर ठकुराईलाई पनि प्रतिवादी बनाइएको थियो । त्यस्तै, गृह मन्त्रालयको छानबिन समितिका संयोजक तत्कालीन उपसचिव पुष्कर राना र सदस्य शाखा अधिकृत परशुराम पोखरेलविरुद्ध पनि अख्तियारले मुद्दा चलाएको थियो ।
अख्तियारले मेयर सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ का विभिन्न दफाअन्तर्गतको कसुरमा मतियार भएको दाबी गर्दै मुख्य कसुरदारसरह सजायको माग गरेको थियो ।
अन्य दुई मुद्दा भने विचाराधीन
विशेष अदालतबाट सफाइ पाए पनि मेयर सिंहविरुद्ध पर्सा जिल्ला अदालतमा दुईवटा मुद्दा विचाराधीन छन् । दस्तखत किर्ते तथा झुटो विवरण पेस गरी नागरिकता बनाएको आरोपसम्बन्धी ती मुद्दामा सिंह यसअघि धरौटीमा रिहा भएका थिए ।
दस्तखत किर्ते मुद्दामा ४ लाख रुपैयाँ र झुटो विवरण पेस गरी नागरिकता बनाएको कसुरमा १५ हजार रुपैयाँ धरौटी माग गरिएको थियो ।







