काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत हुने वडा तहदेखि केन्द्रीय तहसम्मका अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेका छन्।
सभापति थापाले मंगलबार अपिल जारी गर्दै आगामी असोज ३ र ४ गते हुने वडा अधिवेशनलाई विशेष महत्त्वका साथ लिएर सक्रिय सहभागिता जनाउन कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन्।
कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा आयोजना हुँदै छ। त्यसअघि वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा प्रदेश तहका अधिवेशन सम्पन्न हुनेछन्।
महाधिवेशनको प्रक्रिया संविधान, नेपाली कांग्रेसको विधान र प्रचलित कानुनअनुसार अघि बढिरहेको उल्लेख गर्दै थापाले पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखेर संवाद, सहमति र अधिवेशन प्रक्रियामा भूमिका निर्वाह गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।
उनले लोकतान्त्रिक पार्टीभित्र विचार र मत फरक हुनु स्वाभाविक रहेको पनि बताएका छन्। फरक मतलाई कमजोरीका रूपमा नभई लोकतान्त्रिक अभ्यासको हिस्सा मानेर पार्टीभित्र देखिने असमझदारीलाई संवाद र विधिसम्मत प्रक्रियाबाट समाधान गर्नुपर्नेमा उनले जोड दिएका छन्।
महाधिवेशनलाई पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले कुनै प्रकारको अलमल वा द्विविधामा नपरी अधिवेशनका सबै चरणमा सक्रिय र उत्साहजनक सहभागिता जनाउन कांग्रेसजनलाई आह्वान गरेका छन्।
थापाका अनुसार पार्टीका अग्रज नेता, विभिन्न तहका पदाधिकारी तथा सदस्यबाट प्राप्त सुझावलाई ध्यानमा राख्दै २०८२ पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहज सहभागिता गराउने निर्णय गरिएको छ।
त्यसअनुसार सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यको नामावली टुङ्ग्याइसकेको र केन्द्रीय निर्वाचन समितिले अधिवेशनका प्रक्रिया अघि बढाइसकेको उनले जानकारी दिएका छन्। निर्वाचन अधिकृतहरू समेत जिल्लामा खटिइसकेको अपिलमा उल्लेख छ।
विशेष महाधिवेशन सम्पन्न हुनुअघिको केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा समावेश गर्ने निर्णय भदौ २८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरिसकेको थापाले बताएका छन्।
उक्त निर्णयसँगै तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा सुनिश्चित भइसकेको भन्दै थापाले उनीहरूलाई १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय सदस्यकै हैसियतमा सहभागी हुन आग्रह गरेका छन्।
उनले असोज ३ र ४ गतेको वडा अधिवेशनलगायत निर्धारित कार्यतालिकाअनुसार हुने सबै तहका अधिवेशनमा कुनै द्विविधा नराखी सहभागी हुन विशेष आग्रह गरेका छन्।








