काठमाडौँ- युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदौस अजमानबीच आज मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा मन्त्री यादवले मलेसियाको एफडब्लुसिएमएसमा नेपालका केही इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थालाई मुख्य र सहायक संस्थाका रूपमा सूचीकृत गरिएको विषयप्रति सरकार गम्भीर रहेको जानकारी गराउँदै संस्था सूचीकृत मूल्याङ्कन प्रणाली तथा मापदण्ड नेपाल सरकारलाई आधिकारिक रूपमा उपलब्ध गराउन अनुरोध गर्नुभएको छ ।
मन्त्री यादवले वैदेशिक रोजगार व्यवसायमा प्रतिस्पर्धा सङ्कुचित हुने, सीमित संस्था वा समूहको नियन्त्रण कायम हुने कुनै पनि व्यवस्था कानुनी प्रावधानविपरीत र द्विपक्षीय श्रम सम्झौताविपरीत हुने विषय नेपाल सरकारलाई स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ ।
सबै इजाजत पत्र प्राप्त संस्थाका लागि समान अवसर, पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित हुनुपर्ने स्पष्ट धारणा उहाँले राख्नुभयो ।
साथै केही सूचीकृत इजाजत पत्र प्राप्त संस्थाले आफूहरू एफडब्लुसिएमएस प्रणालीबाट बाहिरिने इच्छा राखेको विषयसमेत जानकारी गराउनुभएको छ ।
मन्त्री यादवले यस विषय समाधानका लागि जतिसक्दो चाँडो द्विपक्षीय कूटनीतिक परामर्श र नेपाल सरकारको प्रयासमा सहजीकरण गरी मलेसिया सरकारसँग आवश्यक समन्वयका लागि पहल गर्न पनि महामहिम कार्यवाहक राजदूतलाई अनुरोध गर्नुभएको छ । रासस








