नेपाल र बंगलादेशबीच मार्चमा तीन खेलको टी-२० सिरिज हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले टेस्ट टोली बंगलादेश विरुद्धको सिरिज पक्का गरेको हो।
नेपालको घरेलु मैदानमा हुने तय भएको खेल चैत १२, १४ र १६ गते अर्थात २०२७ को २६, २८ र ३० मार्चमा टियू मैदान कीर्तिपुरमा हुनेछ।
क्यान सचिव पारस खड्काले राइनो र टाइगरबिचको यो भिडन्त क्रिकेटप्रेमीहरुका लागि उत्साहीत भएको बताए। उनले भने ‘आगामी मार्चमा हुने नेपाल र बंगलादेशबीचको क्रिकेट सिरिज नेपालमा हालै आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूप्रति समर्पित गरिने घोषणा गर्न पाउँदा हामी खुसी छौँ।’
उनले क्रिकेटभन्दा पर, यो सिरिजले नेपाल र बंगलादेशबीचको ऐक्यबद्धता, करुणा र मित्रताको सन्देश पनि प्रवाह गर्ने विश्वास ब्यक्त गरे। उनले दुई छिमेकी राष्ट्रका रूपमा नेपाल र बंगलादेशबीच जनस्तरमा बलियो सम्बन्ध रहेको भन्दै क्रिकेटप्रतिको साझा प्रेमले दुवै देशलाई अझ नजिक राखेको बताए।
यो सिरिजलाई मित्रता, स्मरण र ऐक्यबद्धताको प्रतीक बनाउने अभियानमा हातेमालो गरेकोमा बंगलादेश क्रिकेट बोर्डलाइ धन्यवाद दिएका छन्।









