काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्पछिको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका काममा सरकारका विभिन्न निकायबीच निरन्तर समन्वय भइरहेको बताएका छन्। बुधबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलगायत विभिन्न मन्त्रालय, विभाग र सरकारी संयन्त्र विपद् व्यवस्थापनमा सक्रिय रहेको बताए।उनका अनुसार विपद्पछि सरकारले प्रारम्भमा खोजी तथा उद्धारलाई प्राथमिकता दिएको थियो। अहिले राहत वितरणको काम भइरहेको र भौगोलिक जटिलताका कारण केही व्यावहारिक कठिनाइ तथा कमजोरी देखिए पनि सम्बन्धित निकायले काम गरिरहेको उनले बताए। ‘विपद् व्यवस्थापनमा विभिन्न मन्त्रालय, विभाग र सम्बन्धित निकायहरू संलग्न छन् । सबै निकायले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहे पनि उनीहरूबीच आवश्यक समन्वय निरन्तर भइरहेको छ,’ उनले भने, ‘सरकारले प्रारम्भमा खोज तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढायो । त्यसपछि राहत वितरणको काम भइरहेको छ । अब पुनर्स्थापना र पुनर्निर्माणको दीर्घकालीन चरणमा सम्बन्धित मन्त्रालय, विभाग तथा प्राधिकरणहरू योजना निर्माण र कार्यान्वयनमा जुटिरहेका छन्।’
लामिछानेले नीतिगत निर्णयदेखि फिल्ड स्तरको कार्यान्वयनसम्मका काम निरन्तर भइरहेको दाबी गरे। सरकारका कामकारबाही सार्वजनिक भइरहेकाले नागरिकले
सरकारको कार्यसम्पादनको मूल्याङ्कन गर्न सक्ने उनको भनाइ छ। रास्वपाभित्रैबाट सरकारको कामप्रति हुने आलोचनाबारे लामिछानेले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो रहेकाले नेताहरूले आफ्ना धारणा स्वतन्त्र रूपमा राख्न पाउने बताए। आफ्नै सरकारको आलोचना गर्नु पनि लोकतान्त्रिक अभ्यास भएको उनको भनाइ छ। नेता तथा सांसदहरूको अभिव्यक्ति दिने शैली फरक–फरक हुने भएकाले त्यसलाई पार्टीभित्रको ठूलो असहमतिको विषयका रूपमा लिन नहुने उनले बताए।
सर्वदलीय बैठकमा पछिल्लो विपद् व्यवस्थापन, सरकारी निकायबीचको समन्वय, राहत तथा पुनर्स्थापना र जलवायु परिवर्तनका विषयमा छलफल भएको थियो। बैठकले सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने तथा संसद्मा विशेष समिति गठनका लागि पहल गर्ने विषयमा समेत छलफल गरेको लामिछानेले जानकारी दिए।