images
images

नेपाल–कतार श्रम सहकार्य थप प्रभावकारी बनाउने विषयमा छलफल

काठमाडौं — युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादव र नेपालका लागि कतारका राजदूत महामहिम मिशाल मोहम्मद अली अल–अन्सारीबीच आज द्विपक्षीय शिष्टाचार भेटवार्ता भएको छ।

भेटवार्तामा कतारमा कार्यरत नेपाली श्रमिकको हकहित, सुरक्षा तथा नेपाल–कतारबीचको श्रम सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो।

भेटका क्रममा मन्त्री यादवले नेपाली श्रमिकको सीप विकास, सीपअनुसारको रोजगारी तथा पारदर्शी र श्रमिकमैत्री भर्ती प्रक्रिया सुनिश्चित गर्न नेपाल र कतारबीचको सहकार्यलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो।

मन्त्री यादवले हालै नेपालले भोगेको विपद्का समयमा कतार सरकारले प्रदान गरेको सहयोगप्रति आभारसमेत व्यक्त गर्नुभयो। उहाँले विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका क्रममा रोजगारी सिर्जना, सीप विकास, तालिम तथा प्रभावित युवालाई श्रम बजारसँग जोड्ने कार्यक्रमहरूमा कतार सरकारको थप सहकार्यका लागि आग्रह गर्नुभयो।

भेटवार्तामा विद्यमान नेपाल–कतार द्विपक्षीय श्रम समझदारीलाई समयानुकूल व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको थियो। साथै, सीप विकास, व्यावसायिक तालिम तथा दक्ष जनशक्ति उत्पादनका क्षेत्रमा आपसी सहकार्य र समन्वयलाई थप विस्तार गर्ने विषयमा दुवै पक्षबीच छलफल भएको जनाइएको छ।

नेपाल र कतारबीच लामो समयदेखि रोजगारी तथा श्रमका क्षेत्रमा सहकार्य हुँदै आएको छ। पछिल्लो भेटवार्ताले नेपाली श्रमिकको अधिकार, सीप र रोजगारीका अवसरलाई थप व्यवस्थित बनाउने विषयलाई प्राथमिकतामा राखेको देखिन्छ।