काठमाडौँ- मुक्तिनाथ विकास बैंक लिमिटेड र गुड कर्मा ग्रुप अफ कम्पनिज प्रालि (कर्मा रेसिडेन्सिज) बीच आवास कर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
महाराजगन्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकहरूलाई सहज रूपमा आवास कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त सम्झौता गरिएको हो।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न मानन्धर र कर्मा रेसिडेन्सिजका तर्फबाट अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गर्नुभएको छ।
सम्झौता अनुसार योग्य ग्राहकले बैंकको प्रचलित नीति तथा मापदण्ड बमोजिम आधार दरमा ०.२५ प्रतिशत मात्र प्रिमियम थप गरी आवास कर्जा प्राप्त गर्न सक्नेछन्। यस कर्जाको अधिकतम भुक्तानी अवधि ३० वर्षसम्म रहने बैंकले जनाएको छ।
यस सहकार्यले कर्मा रेसिडेन्सिजको आवासीय परियोजनामा घर तथा अपार्टमेन्ट खरिद गर्न चाहने ग्राहकहरूलाई आवश्यक वित्तीय स्रोत जुटाउन थप सहज हुने अपेक्षा गरिएको छ।
यो कर्जा सुविधा ग्राहकको योग्यता, क्रेडिट मूल्यांकन, सम्पत्तिको मूल्यांकन, कानुनी तथा प्राविधिक परीक्षण र बैंकको नियम अनुसार प्रदान गरिनेछ। मुक्तिनाथ विकास बैंकले हाल आवास, अटो, कृषि तथा एसएमई लगायतका विभिन्न कर्जा सुविधाहरू प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराउँदै आएको छ।








