काठमाडौं– नेपाल र भारतबीच आर्थिक साझेदारी थप विस्तार गर्ने विषयमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी अर्थ तथा वित्तीय मामिला मन्त्री निर्मला सीतारमणबीच छलफल भएको छ।
भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले बिहीबार नयाँदिल्लीमा भारतीय समकक्षी सीतारमणसँग द्विपक्षीय भेटवार्ता गरेका हुन्।
भेटमा दुई देशबीचको विकास सहकार्यलाई थप प्रभावकारी बनाउनेदेखि बाढीपछिको पुनर्निर्माणसम्मका विषयमा छलफल भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
त्यस्तै, नेपाल–भारतबीचको व्यापार तथा लगानी विस्तार, ऊर्जा सहकार्य र दुई देशबीचको कनेक्टिभिटीलाई थप मजबुत बनाउने विषयमा पनि दुवै पक्षबीच कुराकानी भएको थियो।
नेपाल र भारतबीच लामो समयदेखि कायम आर्थिक सम्बन्धलाई बदलिँदो आवश्यकता र सम्भावनाअनुसार थप व्यापक बनाउने विषयमा दुवै मन्त्रीले छलफल गरेका थिए।
विशेषगरी ऊर्जा, पूर्वाधार तथा व्यापार–लगानीका क्षेत्रमा विद्यमान सहकार्यलाई थप विस्तार गर्ने सम्भावनाबारे भेटमा कुराकानी भएको जनाइएको छ।
वाग्ले भारत भ्रमणका क्रममा द्विपक्षीय आर्थिक सम्बन्धसँग जोडिएका विषयमा छलफल गर्न नयाँदिल्ली पुगेका हुन्। भेटमा नेपालमा हालै आएको बाढीपछि पुनर्निर्माणका लागि आवश्यक सहकार्यका विषयले समेत स्थान पाएको दूतावासले जनाएको छ।








