images
images

आन्तरिक रोजगारीलाई प्राथमिकता दिई चालु आर्थिक वर्षमा १ लाख युवालाई ‘जब म्याचिङ’ मार्फत रोजगारी दिइनेछ : श्रममन्त्री यादव

राजविराज-श्रम तथा रोजगार कार्यालय, जनकपुरधामले आयोजना गरेको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी १ दिने सचेतनामूलक कार्यक्रममा बोल्दै युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका साथै देशभित्रै आन्तरिक रोजगारी सिर्जना र श्रमिकको अधिकारलाई समान प्राथमिकतामा जोड दिइएको बताउनु भएको छ।

कार्यक्रममा बोल्दै उहाँले विगतमा ८० प्रतिशतभन्दा बढी काम वैदेशिक रोजगारीमा मात्र केन्द्रित हुने गरेको उल्लेख गर्दै अब आन्तरिक र वैदेशिक रोजगारी दुवैलाई समान प्राथमिकता दिइने स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो “यस चालु आर्थिक वर्षमा ‘जब म्याचिङ’ मार्फत रोजगारदाता र रोजगार खोज्ने युवालाई जोडेर १ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। यसका लागि सरकारले १२ वटा ‘फ्ल्यागसिप’ रोजगारीका कार्यक्रमहरू लन्च गर्न लागेको छ, जसमा एआई, ग्रिन जब्स, कृषि, डिजिटल रोजगारी, सिजनल काम तथा डोमेस्टिक र केयरगिभर सम्बन्धी कामहरू समावेश छन्।”

विगतका दिनहरूमा आन्तरिक रोजगारीका लागि उपयुक्त ऐन-नियम नभएकोले हाल सरकार नीतिगत, कानुनी तथा संस्थागत ढाँचा निर्माणको काममा व्यस्त रहेको समेत उहाँले बताउनु भयो।

यसै क्रममा मन्त्री यादवले यही असाेज दाेस्राे साता सीप तथा रोजगार मेला आयोजना गर्न लागिएको र उक्त मेलामा वास्तविक रोजगारदाता र रोजगारीको खोजीमा रहेका श्रमिकहरूबिच प्रत्यक्ष म्याचिङ गराई रोजगारीको अवसर उपलब्ध गराइने बताउनु भयो।