images
images

१३ देशका लागि नयाँ राजदूत प्रस्तावित, भारतदेखि साउदीसम्म को कहाँ ?

काठमाडौँ -सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशका लागि राजदूत नियुक्त गर्न १३ जनाको नाम सिफारिस गरेको हो।

सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापाको नाम सिफारिस गरेको छ।

त्यस्तै, बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जंगबहादुर राणा, जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन र जर्मनीका लागि शरू जोशीको नाम प्रस्ताव गरिएको छ।

ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार सिफारिस भएका छन्।

भारतमा निश्चलनाथ पाण्डे

भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डे दक्षिण एसियाली मामिला तथा परराष्ट्र नीतिका जानकार हुन्। उनी हाल सेन्टर फर साउथ एशियन स्टडिजका निर्देशक छन्।

यसअघि उनले परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक तथा राष्ट्रिय योजना आयोगको पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी सल्लाहकारका रूपमा काम गरेका थिए। उनी सत्य निरूपण तथा मेलमिलाप आयोगका विज्ञ तथा नेपाल सरकारको उच्चस्तरीय परराष्ट्र नीति कार्यदलका सदस्यसमेत रहेका थिए।

चीनमा कल्याणराज शर्मा

चीनका लागि प्रस्तावित राजदूत डा. कल्याणराज शर्मा नेपाल–चीन मामिला विज्ञ, चीन अध्ययनकर्ता तथा अर्थशास्त्री हुन्। उनले चीनको फुदान विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।

उनी नेपाल–चीन आर्थिक कूटनीति, व्यापार तथा ‘बेल्ट एन्ड रोड’ सहकार्यका विषयमा सक्रिय रहँदै आएका छन्। फुदान युनिभर्सिटी एलम्नाई एसोसिएसन नेपाल, नेपाल–चीन फ्रेन्डसिप फोरम तथा काउन्सिल अफ सिनोलोजिस्ट्स–नेपालसँग समेत उनी आबद्ध छन्।

अमेरिकामा चिरनजंग थापा

संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापा राष्ट्रिय सुरक्षा, संकट व्यवस्थापन तथा अन्तर्राष्ट्रिय मामिलाका विज्ञ हुन्।

उनले कोलम्बिया युनिभर्सिटीको स्कुल अफ इन्टरनेसनल एन्ड पब्लिक अफेयर्सबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गरेका छन्। सन् २०१७ देखि अक्सफाममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा कार्यरत उनले विभिन्न मुलुकमा जोखिम तथा संकट व्यवस्थापनसम्बन्धी काम गरेका छन्।

बेलायतमा पूर्वप्रधानसेनापति राणा

बेलायतका लागि प्रस्तावित राजदूत पूर्वप्रधानसेनापति गौरवशमशेर जंगबहादुर राणा हुन्। उनले सन् २०१२ देखि २०१५ सम्म नेपाली सेनाको प्रधानसेनापतिका रूपमा नेतृत्व गरेका थिए।

सन् २०१५ को भूकम्पपछि नेपाली सेनाले सञ्चालन गरेको ‘अपरेशन संकट मोचन’अन्तर्गत उद्धार तथा राहत कार्यमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

जापानमा जिग्यानकुमार थापा

जापानका लागि प्रस्तावित राजदूत जिग्यानकुमार थापाले नेपाल–जापान सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा दुई दशकभन्दा बढी काम गरेका छन्। उनले जापानका विभिन्न संस्थामा अन्तर्राष्ट्रिय सहकार्य, सार्वजनिक नीति तथा बहुसांस्कृतिक मामिलामा काम गरेका छन्।

अन्य मुलुकमा प्रस्तावित राजदूत

इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस गरिएको छ।

सिफारिस भएकामध्ये कर्ण सूचना प्रविधि, बैंकिङ तथा आर्थिक नीति, शेरचन अन्तर्राष्ट्रिय विकास तथा साझेदारी, जोशी वैदेशिक रोजगार तथा आप्रवासन नीति, राणा दिगो विकास तथा नवप्रवर्तन, खरेल शिक्षा तथा सार्वजनिक प्रशासन, श्रेष्ठ जलस्रोत तथा जलवायु नीति, झा सुशासन तथा सार्वजनिक नीति र सुनार अन्तर्राष्ट्रिय विकास तथा सामाजिक समावेशीकरणका क्षेत्रमा कार्यरत रहेको विवरण सार्वजनिक भएको छ।

राजदूतका लागि मन्त्रिपरिषद्बाट सिफारिस भएका नाम संसदीय सुनुवाइ प्रक्रियाबाट अघि बढ्नेछन्। त्यसपछि सम्बन्धित मुलुकबाट सहमति (एग्रिमो) प्राप्त भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था छ।

राजदूत सिफारिसको सूची

मुलुक प्रस्तावित राजदूत
भारत डा. निश्चलनाथ पाण्डे
चीन डा. कल्याणराज शर्मा
संयुक्त राज्य अमेरिका चिरनजंग थापा
बेलायत गौरवशमशेर जंगबहादुर राणा
जापान जिग्यानकुमार थापा
इजरायल सुरेशकुमार कर्ण
स्पेन प्राप्ति शेरचन
जर्मनी शरू जोशी
ओमान डा. पद्माक्षी राणा
मलेसिया चूडामणि खरेल
दक्षिण कोरिया प्रा. डा. सङ्गम श्रेष्ठ
श्रीलंका डा. मञ्चला झा
साउदी अरेबिया गिरीबहादुर सुनार