images
images

पर्यटकहरूको मोबाइल कनेक्टिभिटी सहज बनाउन एनसेल र नाटोबीच समझदारी

काठमाडौँ- नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यका साथ एनसेल र नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) बीच रणनीतिक साझेदारी भएको छ।

नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन्। यो सम्झौतासँगै नेपालका विभिन्न भागमा यात्रा गर्दा विदेशी पर्यटकहरूलाई आफ्ना परिवार तथा साथीभाइसँग निरन्तर सम्पर्कमा रहन सहज हुनेछ।

साझेदारी अनुसार एनसेलले पर्यटकहरूका लागि भरपर्दो मोबाइल कनेक्टिभिटी प्रदान गर्नेछ भने नाटोले आफ्ना ट्राभल अपरेटरहरूको बृहत् सञ्जालमार्फत अन्तर्राष्ट्रिय यात्रुहरूमाझ एनसेलका सेवाबारे जानकारी तथा पहुँच पुर्‍याउन सहजीकरण गर्नेछ।

साथै, यो सहकार्यले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने ‘#नेपालकलिङ’ अभियानलाई समेत टेवा पुर्‍याउने विश्वास लिइएको छ।

दूरसञ्चार सेवा विस्तारबाहेक एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनसेल फाउन्डेसनमार्फत राजमार्गहरूमा आधुनिक वाश (खानेपानी, सरसफाइ तथा स्वच्छता) पूर्वाधार निर्माणमा पनि नाटोलाई सहयोग गर्नेछ।

यसको सुरुवात धादिङको गजुरीबाट पाइलट परियोजनाका रूपमा गरिनेछ, जसले पर्यटकसँगै स्थानीय समुदायको सरसफाइको आवश्यकतालाई पूरा गर्दै नेपालमा दिगो पर्यटन प्रवर्द्धनमा मद्दत पुर्‍याउनेछ।