images
images

प्रचण्ड आक्रोशित– ‘अमेरिकी दलाल’ले अल्गोरिदममार्फत म्यानिपुलेसन गरे

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साम्राज्यवादी ‘अमेरिकी दलाल’हरूले पुराना राजनीतिक दल र नेताले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य बनाएर जनतालाई भ्रमित पारेको भन्दै आक्रोश व्यक्त गरेका छन् । शुक्रबार (असोज २) काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ केन्द्रीय समितिको पूर्ण बैठकमा उनले आक्रोश व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालका अल्गोरिदममार्फत पुराना दल र नेताहरूले गरेका कामबारे गलत धारणा निर्माण गरिएको भन्दै उनले आपत्ति जनाए । “अहिले साम्राज्यवादी अमेरिकी दलालहरूले भन्ने गरेका छन्, पुराना पार्टी र नेताहरूले केही पनि गरेनन् ३५ वर्षमा भनेर । सबै बिगार्ने काम मात्र गरे भनेर एउटा भाष्य बनाएको छ र जनताको दिमागमा अल्गोरिदममार्फत यस्तो म्यानिपुलेसन र षड्यन्त्र गरेका छन् कि हामीले एउटै राम्रो काम गरेनौँ जस्तो,” उनले भने ।

उनले मध्यपहाडी लोकमार्ग, उत्तरदक्षिण करिडोर, मदन भण्डारी राजमार्ग र हुलाकीमार्ग निर्माण तथा विस्तारका निर्णय पुराना राजनीतिक नेतृत्वकै पालामा भएको बताए । उनले भने, “मध्यपहाडी लोकमार्ग निर्माण गर्ने निर्णय कसले गरायो ? उत्तरदक्षिण करिडोर कसले बनाउने निर्णय गर्‍यो ? मदन भण्डारी राजमार्ग बनाउने कुरा कसले गरायो ? तराईमा हुलाकी मार्गलाई अगाडि बढाउने काम कसले गर्‍यो ?”

संयोजक प्रचण्डले ऊर्जा क्षेत्रमा समेत महत्त्वपूर्ण काम भएको जिकिर गरे । उनले नेपालमा ऊर्जा क्रान्तिको आवश्यकता औँल्याए । विद्युत् उत्पादन र निर्यातको अवधारणा अघि बढाउने तथा लोडसेडिङ अन्त्य गर्ने कार्य आफ्नै पालमा भएको उनको भनाइ थियो ।

उनले भने, “ऊर्जा हाम्रो लागि ठूलो सम्पत्ति हो भनेर नै देशभित्र ऊर्जा क्रान्ति गर्नुपर्छ कसले भन्यो ? १० हजार मेगावाटको विद्युत् निर्यातको कुरा मात्र होइन, नेपालमा लोडसेडिङ अन्त्य कसले गर्‍यो ?”

उनले पुराना तथा स्थापित राजनीतिक दलहरूको योगदानलाई बेवास्ता गर्न नहुने बताए । आफूले गरेका कामहरूको प्रचारप्रसारमा लाग्न उनले नेता–कार्यकर्तालाई निर्देशन समेत दिए । न्युज एजेन्सी नेपाल