काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कागजमा लेखिएका शब्दहरूको संग्रह मात्र नभई नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा भएको बताउनुभएको छ ।
संविधान दिवसका अवसरमा शितल निवासमा शनिवार आयोजित चियापान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । राष्ट्रपति पौडेलले विपत्तिले विकासको अर्थ सडक, पुल र भवन निर्माणमा मात्र सिमित नभएको स्मरण गराएको बताउनु भयो ।
उहाँले मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि विकासको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्नुभयो । उहाँले विपत्तिपछिको पुनर्निर्माण गर्दा भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि पुनःस्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
जलवायु परिवर्तनका चुनौतीबीच नेपालको विकासको ढाँचा अझ मानवीय, न्यायपूर्ण र प्रकृतिमैत्री बनाउनुपर्ने उहाँको भनाइ छ । राष्ट्रपति पौडेलले संविधानले लोकतन्त्र, संघीयता र बहुलवादमा आधारित समावेशी नेपाल निर्माणको अवसर प्रदान गरेको बताउनु भयो ।
एकात्मक र केन्द्रिकृत शासन प्रणालीको स्थानमा संघीयता प्राप्त हुनु संविधानको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उहाँले संघीयतालाई देश विकासको अनिवार्य तहका रूपमा अघि बढाउनुपर्ने बताउनु भयो । उहाँका अनुसार संविधानले राज्यको शासकीय संरचनालाई नयाँ ढंगले स्थापित गर्दै नागरिकलाई इतिहासमै सबैभन्दा धेरै स्वतन्त्रता र सम्मान प्राप्त गर्ने आधार दिएको छ ।
पौडेलले भन्नुभयो, ‘विपत्तिले हामीलाई सम्झाएको छ । विकास केवल सडक, पुल र भवन निर्माण होइन, मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि हो । त्यसैले पुनर्निर्माण गर्दा भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि पुनस्र्थापित गर्नुपर्छ । हाम्रो संविधानले लोकतन्त्र, संघीयता, बहुलवाद र समावेशितामार्फत नागरिकका अधिकार, आशा र आकांक्षालाई संस्थागत गरेको छ । एकात्मक र केन्द्रीकृत शासन प्रणालीको विकल्पका रूपमा प्राप्त संघीयतालाई देश विकासको महत्वपूर्ण आधारका रूपमा उपयोग गर्न आवश्यक छ । जलवायु परिवर्तनका चुनौतीबीच हाम्रो विकासको ढाँचा अझ मानवीय, न्यायपूर्ण र प्रकृतिमैत्री हुनुपर्छ । संविधान कागजमा लेखिएका शब्दहरूको संग्रह मात्र होइन; यो नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा हो । यिनै उपलब्धिको जगमा सुखद् र समृद्ध भविष्य निर्माण गर्नुपर्छ ।’
उहाँले संविधानले दिएका उपलब्धिका आधारमा देशको भविष्यको सुखद् यात्रा सुनिश्चित गर्न सकिने विश्वाससमेत व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल








