images
images

परराष्ट्रमन्त्री खनाल यूएनको महासभामा भाग लिन आइतबार अमेरिका जाँदै

काठमाडौं – संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ ।

परराष्ट्र मन्त्रालयको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन् । साथै, परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम तय भएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह सेप्टेम्बर २२ मा अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई सेप्टेम्बर २४ मा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री शाहले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार , परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् ।

यस पटक राष्ट्रसंघमा सहभागी हुन लागेको नेपाली प्रतिनिधिमण्डलको संख्या १४ रहेको छ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा काठमाडौं फर्किने कार्यक्रम रहेको छ भने परराष्ट्रमन्त्री खनाल सेप्टेम्बर २९ मा नेपाल आइपुग्नेछन् ।