काठमाडौँ- मोरङको सलकपुरमा आइतबार पक्राउ परेका राजनीतिक विश्लेषक भरत दाहालमाथि अनुसन्धान गर्न प्रहरीले तीन दिनको म्याद लिएको छ।
काठमाडौँस्थित प्रहरीको साइबर ब्युरोले उनीमाथि अनुसन्धान गर्न अदालतबाट तीन दिनको म्याद लिएको हो।
साइबर ब्युरोका प्रवक्ता एसपी दिलीपकुमार गिरीका अनुसार दाहालमाथि अनुसन्धान गर्न ब्युरोले सोमबार तीन दिनको म्याद लिएको हो।
‘तीन दिनमा अनुसन्धान नसकिए हामी थप म्याद लिन्छौँ,’ एसपी गिरीले भने।
प्रहरीले सलकपुरमा आइतबार पक्राउ गरेपछि आइतबार साँझ बुद्ध एयरको विमानमार्फत विराटनगर विमानस्थल हुँदै उनलाई काठमाडौं ल्याइएको थियो।
दाहाल राजनीतिक छलफल तथा कार्यक्रममा सहभागी हुन असोज २ गते पूर्वतिर गएका थिए। शनिबारको कार्यक्रम सकेर आइतबार काठमाडौं फर्किने तयारीमा रहेका उनलाई सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरस्थित चिया पसलबाट प्रहरीले पक्राउ गरेको थियो।
स्रोतका अनुसार दाहालमाथि अमेरिकी सञ्चारमाध्यम ‘ग्रे जोन’ले नेपालमा भएको जेनजी आन्दोलनका बारेमा सार्वजनिक गरेको रिपोर्ट सामाजिक सञ्जालमार्फत फैलाएको विषयमा अनुसन्धान अघि बढाउने तयारी छ।
दाहालले सेप्टेम्बर १२ अर्थात् भदौ २७ गते ‘अमेरिकी पत्रिकामा अर्को विस्फोट’ शीर्षक राखेर ग्रे जोनको रिपोर्ट सामाजिक सञ्जालमा सेयर गरेका थिए।








