images
images

दसैंअघि सार्वजनिक सवारीसाधनमा जिपिएस लागू गर्ने तयारी गर्दै छौँः महानिर्देशक पोखरेल

काठमाडौँ – यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले दसैंअगाडि नै सार्वजनिक सवारीसाधनमा प्रविधिमैत्री ‘जिपिएस’ लागू गर्ने बताएका छन्।

यातयात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी आयोजना गरेको छलफल कार्यक्रममा उनले सार्वजनिक यातायातमा प्रयोग हुने जिपिएसलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने तयारी भइरहेको बताएका हुन्।

दसैंअघि नै आवश्यक सूचना जारी गर्ने उनको भनाइ छ। उनका अनुसार हाल जिपिएसको गुणस्तर, मूल्य, प्रणालीसँगको समायोजनलगायत प्राविधिक विषय अध्ययन भइरहेको छ।

उनले सामाजिक सुरक्षालाई यातायात क्षेत्रका मजदूरका लागि अनिवार्य बनाउने विषयमा समेत कानुनी प्रक्रिया अघि बढिरहेको जानकारी दिए। सामाजिक सुरक्षासम्बन्धी विषय आगामी ऐनमा समेटिने उनको भनाइ छ।

उनले सार्वजनिक यातायातको सुरक्षा, यातायात मजदूरको सुरक्षा र यात्रुको सुविधा सुनिश्चित गर्न राज्य, यातायात व्यवसायी र मजदूरले समन्वय गरेर काम गर्नुपर्ने बताए। हाल देशभरका प्रमुख सडकको अवस्था जर्जर रहेको भन्दै उनले बाढीपहिरोका कारण राजमार्गमा थप समस्या देखिएको बताए।

काठमाडौँ बाहिरिने राजमार्गलाई तत्काल सञ्चालनयोग्य बनाउन सडक विभागलाई आवश्यक निर्देशनका लागि भौतिक पूर्वाधार मन्त्रालयमा लेखी पठाउने जानकारी दिए।

उनले दसैं–तिहारको समयमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत पहल गर्ने पनि बताए। अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा भाडादर समायोजनको विषय सहज हुने भए पनि चाडपर्वका बेला मूल्यवृद्धि भएमा त्यसको प्रत्यक्ष असर यात्रुमाथि पर्ने उनको भनाइ छ।

उनले अग्रिम टिकट बुकिङ तत्काल खोल्न उपयुक्त नहुने बताए। आगामी चार–पाँच दिनको मनसुन अवस्था हेरेर त्यसपछि मात्रै अग्रिम टिकट खुलाउने विषयमा निर्णय गरिने उनको भनाइ छ। उनले दसैं–तिहारका लागि सञ्चालन हुने सार्वजनिक सवारीको भेहिकल फिटनेस टेस्ट सर्टिफिकेट (भीएफटीसी) अनिवार्य रूपमा जाँच गर्ने बताए।