images
images

प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको मित्र राष्ट्रमध्ये पहिरो भ्रमण भारत हुने सम्भावना देखिएको छ । भारत र नेपालबीच प्रधानमन्त्री शाहको भारत भ्रमणका लागि नोभेम्बरमा मिति मिलाउने विषयमा छलफल भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्यअघि भ्रमण गराउने तयारी भइरहेको बताएका थिए। पछिल्लो रिपोर्टअनुसार नोभेम्बरमा नयाँदिल्ली भ्रमणको सम्भावनाबारे दुई देशबीच गृहकार्य भइरहेको छ। भ्रमणको औपचारिक मिति भने तय भइसकेको छैन।

वाग्लेले दिल्लीमा भारतीय अधिकारी तथा उद्योग क्षेत्रका प्रतिनिधिसँगको भेटमा नेपाल–भारतबीच उद्योग–उद्योग सहकार्य, रोजगारी सिर्जना र नेपालमा नयाँ लगानी भित्र्याउने विषयमा छलफल गरेका थिए। नेपालले जलविद्युत्, पूर्वाधार, कृषि, डिजिटल प्रविधि, पर्यटनलगायत क्षेत्रमा भारतीय निजी लगानी बढाउन चाहेको छ।

व्यापार र पारवहन सम्झौता पनि एजेन्डामा

नेपालले भारतसँगको द्विपक्षीय व्यापार तथा पारवहन सम्झौतालाई थप आधुनिक बनाउने विषयलाई पनि प्राथमिकतामा राखेको छ। दुई देशबीच रेलमार्फत मालसामान ढुवानी तथा बल्क कार्गो कनेक्टिभिटी विस्तार गर्ने विषयमा यसअघि पनि सहमति भइसकेको छ।

वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरसँगको भेटमा हालैको बाढीबाट भएको क्षति, पुनर्निर्माण तथा भारतबाट हुनसक्ने सहयोगबारे पनि छलफल गरेका थिए। वाग्लेको भारत भ्रमण अर्थमन्त्रीका रूपमा उनको पहिलो विदेश भ्रमण थियो।

प्रधानमन्त्री शाहले यसअघि आफू प्रधानमन्त्री बनेपछि विदेश भ्रमण २०२७ बाट मात्रै सुरु गर्ने बताएका थिए। तर पछिल्लो समय छिमेकी मुलुकसँग उच्चस्तरीय सम्पर्क बढाउने क्रममा भारत भ्रमणको तयारी अघि बढेको हो।

भ्रमण भएमा प्रधानमन्त्री शाहको पहिलो भारत भ्रमणका क्रममा दुई देशबीच आर्थिक तथा व्यापारिक सहकार्य, लगानी, ऊर्जा, पूर्वाधार र पुनर्निर्माणलगायत विषय प्रमुख एजेन्डामा पर्न सक्ने देखिएको छ।