images
images

अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व

काठमाडौं– अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्दै राजस्व, बजेट, ठूला करदाता कार्यालय र भन्सार विभागमा नयाँ जिम्मेवारी तोकेको छ ।

मन्त्रालयले सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिएको छ । दाहाल यसअघि बजेट महाशाखामा कार्यरत थिए । लुम्बिनी प्रदेशबाट हालै संघमा सरुवा भएर आएका बन्धुप्रसाद बाँस्तोलालाई बजेट महाशाखाको जिम्मेवारी दिइएको छ ।

त्यस्तै प्रेम आचार्यलाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक बनाइएको छ । यसअघि उक्त जिम्मेवारीमा रहेका केदार शर्माले राजीनामा दिएपछि आचार्यलाई नयाँ जिम्मेवारी दिइएको हो ।

नारायणप्रसाद रिसाललाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ । रिसाल पनि हालै कोशी प्रदेशबाट संघमा सरुवा भएर आएका हुन् ।

यसैगरी गोकुल बाँस्तोलालाई सहमहालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ । लोकसेवा आयोग कोशीबाट हालै सरुवा भएका बाँस्तोलाले उपसचिव हुँदा लामो समय महालेखा नियन्त्रकको कार्यालयमा काम गरेका थिए ।

असोज लागेपछि सहसचिवका राजीनामा बढ्दै
यसबीच ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक केदार शर्माले राजीनामा दिएका छन् । असोज लागेयता मात्रै चार जना सहसचिवले राजीनामा दिएको बताइएको छ ।

निजामती सेवा ऐनमा प्रस्तावित नयाँ व्यवस्थाअनुसार ऐन जारी हुँदाको समयमा ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेरमध्ये जुन पहिले पुग्छ, त्यसैका आधारमा अवकाश हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

उक्त व्यवस्था कार्यान्वयन हुनसक्ने आकलनका बीच सेवा अवधि बाँकी रहेका केही उच्च तहका कर्मचारीले राजीनामा दिन थालेका हुन् । पछिल्लो समय सहसचिव तहका कर्मचारीको राजीनामाले प्रस्तावित अवकाश व्यवस्थाबारे कर्मचारी वृत्तमा चासो बढाएको छ।