काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग टेलिफोन संवाद गर्दै मलेसियामा नेपाली श्रमिकले भोग्दै आएका सिन्डिकेट र बिचौलियाको समस्या स्थायी रूपमा अन्त्य गर्न आग्रह गरेका छन्।
मंगलबार बिहान भएको टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले नेपाल–मलेसिया वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिएका हुन्। उनले मलेसियाको रोजगारी क्षेत्रमा रहेको भनिएको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई स्वीकार्य नभएको स्पष्ट पारे।
प्रधानमन्त्री शाहले यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्तिका कारण नेपाली श्रमिकहरू आर्थिक तथा अन्य प्रकारका समस्यामा पर्ने गरेको उल्लेख गर्दै यसको स्थायी समाधानका लागि दुवै देशका सम्बन्धित निकायबीच प्रत्यक्ष संवाद आवश्यक रहेको बताए।
“हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन। यसले श्रमिकहरूलाई मारमा पारेको छ,” प्रधानमन्त्री शाहले भने, “त्यसैले तपाईंका श्रममन्त्रीलाई हाम्रा श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु।”
प्रधानमन्त्री शाहको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले पनि सिन्डिकेट र बिचौलिया प्रथाको आफू विपक्षमा रहेको बताएका छन्।
उनले यस्तो अभ्यास गलत र शोषणकारी भएको उल्लेख गर्दै समस्या समाधानका लागि तत्काल पहल गर्ने प्रतिबद्धता जनाए।
“यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्ण विरुद्धमा छु। म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु,” इब्राहिमले भने।
दुई प्रधानमन्त्रीबीचको संवादपछि अब नेपाल र मलेसियाका श्रम मन्त्रालयबीच प्रत्यक्ष छलफलमार्फत नेपाली श्रमिकका समस्या सम्बोधन गर्ने तयारी अघि बढ्ने भएको छ। दुवै पक्षले श्रमिकलाई अनावश्यक आर्थिक भार र शोषणबाट जोगाउने तथा वैदेशिक रोजगारी प्रक्रियालाई थप पारदर्शी बनाउने विषयमा पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री शाहको पहलपछि नेपाली श्रमिकसँग जोडिएको सिन्डिकेट र बिचौलियाको समस्या समाधानका लागि अब दुवै देशका श्रममन्त्रीबीच हुने वार्तालाई महत्वपूर्ण रूपमा हेरिएको छ।








