काठमाडौं – प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन सोमबार साँझ अमेरिका प्रस्थान गर्दैछन्। उनको विदेश भ्रमणमा विमानस्थलमा विगतको भन्दा फरक र नयाँ दृश्य देखिने भएको छ।
प्रधानमन्त्री विदेश जाँदा दिइने नेपाली सेनाको सलामी तथा विमानस्थलमा मन्त्रीदेखि उच्च सरकारी अधिकारीसम्मको औपचारिक बिदाइ यसपटक नहुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्री शाह साँझ करिब ७ बजे काठमाडौं विमानस्थलबाट अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेकाे प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । उनी विमानस्थलको भीआईपी कक्षमा लामो समय नबसी सिधै विमानतर्फ जाने उनले बताइन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार विदेश भ्रमणमा जाँदा र फर्किँदा सरकारी कर्मचारी तथा पदाधिकारीको ठूलो भीड जम्मा हुने पुरानो परम्परा अन्त्य गर्न लागिएको हो। विपद्को समयमा तामझामपूर्ण स्वागत तथा बिदाइ उपयुक्त नहुने प्रधानमन्त्रीको धारणा रहेको स्रोतले जनाएको छ।
यसअघि प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किँदा कार्यालयको नियमित काम छाडेर समेत उच्च सरकारी अधिकारीदेखि विभिन्न तहका कर्मचारी विमानस्थल पुग्ने गरेका थिए ।
अमेरिकामा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्याबारे अवगत गराउँदै जलवायु न्यायबारे कुरा राख्नेछन् ।








