काठमाडौं – कोशी प्रदेशको इटहरीमा असोज १४ देखि २० गतेसम्म ‘सीप तथा रोजगार मेला–२०८३’ आयोजना हुने भएको छ। उत्पादनशील रोजगारी सिर्जना तथा श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले युवा, श्रम तथा रोजगार मन्त्रालयले मेला आयोजना गर्न लागेको हो।
‘सीप र रोजगारी साझा जिम्मेवारी’ नारासहित आयोजना हुने मेलामा उद्योग, सेवा, कृषि, निर्माणलगायत १० विधाका ६५ वटा स्टल रहनेछन्। रोजगारदाताको मागअनुसार सीप तालिम सञ्चालन गरी रोजगारीसँग जोड्ने तथा रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने मेलाको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।
मेलामा कोशी प्रदेशका १३७ वटै स्थानीय तह, निजी क्षेत्रका संघ–संस्था, उद्योगी व्यवसायी, श्रमिक, शैक्षिक तथा प्राविधिक संस्था र विकास साझेदारको सहभागिता रहनेछ।
रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच ‘जब म्याचिङ’ गर्ने उद्देश्य jobfair.shramsansar.gov.np पोर्टलसमेत सञ्चालनमा ल्याइएको छ।
स्थानीय तहका रोजगार संयोजकमार्फत रोजगारदाता तथा रोजगारी खोज्ने व्यक्तिलाई मेलासँग जोडिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले स्वदेशमै सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मेलामा युवा, रोजगारदाता, उद्योगी व्यवसायी तथा सम्बन्धित सबै सरोकारवालालाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।








