images
images

काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको निधन

काठमाडौँ — काठमाडौँ विश्वविद्यालय (केयु) का संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ।

काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको जानकारी केयुका उपकुलपति विवेक बरालले दिएका हुन्।

सिन्धुलीको खुर्कोटमा जन्मिएका डा. शर्माले नेपाल, भारत र बेलायतका विभिन्न विश्वविद्यालयहरूबाट उच्च शिक्षा हासिल गरेका थिए। उनी पछिल्लो समय काठमाडौँ विश्वविद्यालयको ‘बोर्ड अफ ट्रस्टी’ मा आबद्ध रही अभिभावकीय भूमिका निर्वाह गरिरहेका थिए।

नेपालको उच्च तथा प्राविधिक शिक्षाको विस्तार र सुदृढीकरणमा डा. शर्माको अतुलनीय योगदान रहेको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) स्थापना भएपछि उनी त्यसको पहिलो कार्यकारी निर्देशक बनेका थिए।

त्यसैगरी, काठमाडौँ विश्वविद्यालय स्थापनाको नेतृत्वदायी भूमिका निर्वाह गरेका शर्मा सन् १९९१ देखि २०१२ सम्म निरन्तर विश्वविद्यालयको उपकुलपति रहेर शैक्षिक क्षेत्रलाई नयाँ दिशा दिएका थिए।