काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा नेपालको योगदान आगामी दिनमा पनि निरन्तर रहने बताएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा शान्ति सञ्चालन विभागका उपमहासचिव जाँ–पिइरे लाक्रोइक्ससँग भएको भेटमा मन्त्री खनालले नेपालले शान्ति अभियानप्रतिको आफ्नो प्रतिबद्धता थप मजबुत बनाउने बताएका हुन्।
खनालले हाल करिब १२ वटा राष्ट्रसंघीय शान्ति अभियानमा ४ हजार ३ सयभन्दा बढी नेपाली सैनिक तथा प्रहरी कार्यरत रहेको जानकारी दिँदै राष्ट्रसंघको आवश्यकता र अनुरोधअनुसार १० हजारसम्म शान्ति सैनिक पठाउन नेपाल तयार रहेको बताए।
उनले शान्ति स्थापनाका क्रममा ज्यान गुमाएका तथा घाइते भएका नेपाली शान्ति सैनिकको योगदानको सम्मान गर्दै राष्ट्रसंघले नेपाली सुरक्षाकर्मीमाथि राख्दै आएको विश्वासका लागि आभार व्यक्त गरे।
राष्ट्रसंघीय शान्ति अभियानले वित्तीय तथा अन्य चुनौती सामना गरिरहेको अवस्थामा नेपालले अधिकारीको कार्यावधि विस्तार, व्यावसायिक उडानबाट टोली परिचालन तथा ढुवानी र अन्य खर्च न्यूनीकरणमा सहयोग गर्दै आएको पनि उनले बताए।
भेटमा उपमहासचिव लाक्रोइक्सले विश्व शान्ति स्थापनामा नेपाल र नेपाली सुरक्षाकर्मीले पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए। मन्त्री खनालले आगामी शान्ति अभियानमा नयाँ परिचालनका अवसर सिर्जना हुँदा नेपाललाई उचित प्राथमिकता दिन आग्रह गरेका छन्।








