images
images

भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं– असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षासहित हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न निर्देशन दिएको छ।

मन्त्रालयले बुधबार सबै शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न भनेको हो।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो तथा सडक अवरोधका साथै विद्युत् र सञ्चार सेवा प्रभावित हुनसक्ने जोखिम छ।

यस्तै, असोज ९ देखि ११ गतेसम्म तय भएका विश्वविद्यालय तथा अन्य परीक्षाहरू आवश्यकताअनुसार स्थगित गर्न परीक्षा सञ्चालन गर्ने निकायलाई मन्त्रालयले आग्रह गरेको छ।

सम्भावित विपद्का बेला सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्था आए स्थानीय तहलाई सहजीकरण गर्न पनि मन्त्रालयले भनेको छ।

मन्त्रालयले अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका क्षेत्रमा जान नदिन आग्रह गरेको छ। निर्देशनको कार्यान्वयन तथा अनुगमनका लागि शिक्षा विभाग र स्थानीय तहलाई समेत पत्राचार गरिएको छ।

818250265_2183187809210282_5069002372971766050_n-1790176170.jpg