काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)का महानिर्देशक रजत मिश्राको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।
ऊर्जा मन्त्रालयमा बिहीबार भएको भेटमा ऊर्जा क्षेत्रको विकास र विपद् पूर्वतयारी र पूर्वसूचना प्रणाली बलियो बनाउन सहकार्य गर्नेबारे छलफल भएको छ ।
ऊर्जामन्त्री श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रलाई क्षेत्रीय ऊर्जा हबको रुपमा विकास गर्नेगरी सहकार्य गर्न प्रस्ताव गर्नुभयो । नेपालको अर्थतन्त्रको एक प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई अगाडि बढाइरहेको भन्दै उहाँले सहकार्यमा जोड दिनुभएको हो । मन्त्री श्रेष्ठले हालसम्म नेपालको ऊर्जा क्षेत्रमा सहयोग गरेकामा धन्यवाद पनि दिनुभयो । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले निम्त्याएको विपदपछिको प्राविधिक क्षतिको मूल्यांकनको काम भइरहेको जानकारी पनि गराउनुभयो ।
मन्त्री श्रेष्ठले कर्णालीको सुर्खेत, सल्यान, जाजरकोट, कालीकोट, रुकुम पश्चिम, जुम्ला, मुगु, हुम्ला र लुम्बिनीको दाङ, बाँके, बर्दिया र रोल्पामा एआईआईबीले गरिरहेको भइरहेको प्रसारण लाइन निर्माण, सवस्टेसनको विस्तार, वितरण प्रणालीको सुदृढीकरणले सामाजिक न्यायलाई मद्दत गरेको बताउनुभयो । आगामी दिनमा अन्य सहरउन्मुख र सहरी क्षेत्रमा आन्तरिक खपत बढाउन वितरण प्रणाली तथा प्रसारण लाइनको निर्माण कार्यमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री श्रेष्ठले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने नेपालको लक्ष्यमा एआईआईबीजस्ता साझेदार निकायले विशेष सहकार्य जरुरी रहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले नेपालले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको बताउनुभयो । भोटेकोशी बाढीपछि बाढी पूर्वानुमान प्रणालीलाई ३ दिनबाट पाँच दिनमा विस्तार गरिएको जानकारी गराउनुभयो ।
नेपालको विद्युत क्षेत्रमा रहेका नीतिगत कमजोरी पहिचान गरी निजी क्षेत्र तथा साझेदार निकायको लगानीका लागि सहज वातावरण बनाउन तयारी भइरहेको र एआईआईबीजस्ता पूर्वाधार साझेदारहरुबाट महत्त्वपूर्ण नीतिगत सुझावको अपेक्षा गर्नुभयो ।
एआईआईबीका प्रतिनिधिले नेपालको प्रसारण लाइन र वितरण प्रणालीलाई एकीकृतरुपमा स्तरोन्नति गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँहरुले विपदपछिको पुनरुत्थान र पुनर्निर्माणमा सघाउने प्रतिबद्धता पनि जनाउनुभयो । छलफलमा एआईआईबीले विद्युत प्रणालीमा डिजिटल पूर्वाधार विकास गर्ने इच्छा व्यक्त गरेको थियो । सँगै हालै भएको भोटेकोशी विनाशकारी बाढीबाट पाठ सिक्दै विपद् पूर्वतयारी र पूर्वसूचना प्रणालीमा प्राविधिक सहयोग उपलब्ध गराउन इच्छुक देखिएको छ ।








