images
images

शुक्रबार दिनभरि नै भारी वर्षा प्रक्षेपण, देशभरि नै सतर्कता अपनाउन आग्रह

काठमाडौँ-  मौसमी भविष्यवाणीअनुसार शुक्रबार दिनभरि नै देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम विभागले उल्लेख गरेको छ।

लुम्बिनी र गण्डकी प्रदेशको एक-दुई स्थानमा पनि अति भारी वर्षाको सम्भावना रहेको देखिएको छ।

त्यस्तै मधेश प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ |

मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न पनि मौसम विभागले आग्रह गरेको छ।

वर्षा र हावाहुरीले दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्दार तथा राहातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।

शनिबारको चेतावनी तस्बिर। शनिबारदेखि वर्षाको तीव्रता कम हुँदै पश्चिमतिर सर्दै जाने अनुमान मौसम विभागको छ।

हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव छ। साथै डिप डिप्रेसन भनिने बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको रहेको मौसम विभागले बताएको छ।

यो प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तर-पश्चिमतर्फ सर्ने सम्भावना रहेको छ भने त्यसपछि आगामी २४ घण्टामा उत्तर-उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको छ।

हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै स्थानमा तथा कर्णाली र सूदूरपश्चिम प्रदेशको एक- दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

शनिबार भने न्यून चापीय प्रणाली कमजोर भई वर्षाको तीव्रता कम हुने र आइतबारदेखि कम हुँदै जाने पनि मौसम विभागले भविष्यवाणी गरेको छ।