काठमाडौँ – नेपाली कांग्रेसको देउवा समूहले १५औँ महाधिवेशनका लागि ७ लाख ८३ हजार ८ सय ३६ जना क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ।
शनिबार काठमाडौँको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाको उपस्थितिमा निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई उक्त विवरण हस्तान्तरण गरिएको हो।
सांगठनिक सुदृढीकरण र महाधिवेशनको प्रक्रियालाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको देउवा समूहले जनाएको छ। सोही क्रममा क्रियाशील सदस्यता वितरण र नवीकरणलाई सहज बनाउन नयाँ वेबसाइट पनि सार्वजनिक गरिएको छ।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरण पौडेलका अनुसार यसपटक ५ लाख ७३ हजार २ सय ६९ पुरानो नवीकरण र २ लाख १० हजार ५ सय ६७ नयाँ गरी कुल ७ लाख ८३ हजार ८ सय ३६ क्रियाशील सदस्यताको विवरण लिपिवद्ध गरिएको छ। उनले अघिल्ला महाधिवेशनमा सदस्यता विवादका कारण अधिवेशन प्रभावित भएको दृष्टान्त दिँदै यसपटक त्यसलाई सच्याउँदै सबै विवरण निर्वाचन समितिलाई बुझाइएको बताए।
निर्वाचन समितिका संयोजक पोखरेलले तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको बताए। उनले १५ गते देशभरका वडाहरूमा अधिवेशन सुरु हुने र त्यसको नतिजा तत्काल सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए। साथै, आगामी दिनमा सदस्यताका लागि आवेदन दिन चाहनेहरूले अनलाइनमार्फत नै प्रक्रिया सुरु गर्न सक्ने व्यवस्था मिलाइएको छ।








