images
images

एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) को ११औँ वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान गरेका छन्।

अर्थ मन्त्रालयका अनुसार वाग्ले कतार एयरवेजको नियमित उडानमार्फत शनिबार साँझ दोहातर्फ प्रस्थान गरेका हुन्। उनीसँगै अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख तथा सहसचिव अमृत लम्साल पनि भ्रमण टोलीमा छन्।

दोहामा हुने बैठकमा वाग्लेले एआईआईबीको बोर्ड अफ गभर्नर्सको सत्रमा नेपालको प्रतिनिधित्व गर्नेछन्। सो क्रममा नेपालको पूर्वाधार विकास तथा आर्थिक वृद्धिका लागि आवश्यक लगानी र बहुपक्षीय सहयोगका विषयमा छलफल गर्ने कार्यक्रम छ।

नेपालका लागि जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण तथा पूर्वाधार विकासमा लगानी विस्तारका विषयलाई उनले बैठकमा प्राथमिकताका साथ उठाउने बताइएको छ।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीका अध्यक्षसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यस्तै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने तयारी पनि छ।

भेटवार्तामा नेपालसँग सम्बन्धित आर्थिक सहकार्य, लगानी तथा विकास साझेदारीका विषयमा छलफल हुने बताइएको छ।

कतार भ्रमण सम्पन्न गरी अर्थमन्त्री वाग्ले असोज १४ गते बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।