काठमाडौँ – हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण धार्मिक अनुष्ठान ‘सोह्र श्राद्ध’ अर्थात पितृ पक्ष आजदेखि शुरु भएको छ।
आश्विन कृष्ण प्रतिपदादेखि शुरु भई औँसीसम्म चल्ने यो पक्षमा दिवंगत पितृहरूको सम्झनामा तर्पण, पिण्डदान र सिदादान गर्दै कृतज्ञता प्रकट गरिन्छ । धार्मिक मान्यतानुसार, पितृ पक्षका बेला दिवंगत पितृहरू पिण्ड र जलको आशामा मृत्युलोकमा झर्ने गर्दछन्।
दशैँ, तिहार र छठजस्ता ठूला चाडपर्वहरू मनाउनुअघि पितृलाई खुसी पार्नु र उनीहरूप्रति श्रद्धा अर्पण गर्नुलाई नेपाली समाजमा विशेष महत्वका साथ लिइन्छ।
सोह्र श्राद्धको पहिलो दिन विशेषतः कुश, तील, जौ र द्रव्य लिएर ऋषिमुनिहरूप्रति श्रद्धा प्रकट गरिँदै ‘अगस्त तर्पण’ गर्ने परम्परा छ। यसका साथै दिवंगत पूर्वजहरू बितेको तिथिअनुसार बाँकी दिनमा श्राद्ध कर्म गरिन्छ। यस कार्यले पितृहरूको आत्मालाई शान्ति प्राप्त हुने र सन्तानले पितृ ऋणबाट मुक्ति पाउने धार्मिक विश्वास छ।
शास्त्रानुसार पितृहरूको सम्मानमा गरिने यस्ता कर्मबाट पितृहरूको आशीर्वाद प्राप्त हुने र जीवनमा आइपर्ने बाधा–अड्चनहरू हट्ने जनविश्वास छ।
यो समयमा पितृकर्म पूरा नभएमा पितृहरूको असन्तुष्टिले विभिन्न समस्या आउन सक्ने मान्यता रहेको छ।








