काठमाडौँ- लगातारको वर्षा, बाढी, पहिरो र चट्याङका कारण देशका विभिन्न भागमा गरी २१ जनाको ज्यान गएको छ।
असोज ८ गतेदेखि सुरु भएको अविरल वर्षाका कारण म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बाग्लुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेत लगायतका जिल्लामा मानवीय क्षति भएको हो।
विपद्मा परेर ५ जना घाइते भएका छन् भने ५ जना बेपत्ता भएका छन्। मनाङमा गएको हिमपहिरोमा पनि मानिसहरू बेपत्ता भएको विवरण प्राप्त भएको र यसबारे थप विवरण संकलन भइरहेको जनाइएको छ।
प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिएका छन्।
विपद्मा फसेका नागरिक तथा पशुचौपायाको उद्धारका लागि सुरक्षाकर्मीहरू अहोरात्र खटिएको र प्रभावित परिवारहरूका लागि स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको प्रबन्ध गरिएको उनले बताएका छन्।
अविरल वर्षाका कारण देशभर ४३९ वटा मनसुनजन्य घटना दर्ता भएका छन्, जसले सहरदेखि गाउँसम्मको जनजीवन प्रभावित बनाएको छ। नारायणी नदीमा क्रुजसिप बगाएर पुलमा अड्किएपछि सुरक्षालाई ध्यानमा राखी पूर्व-पश्चिम राजमार्ग बन्द गरिएको छ। यस्तै काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमार्गसहित विभिन्न जिल्लाका दर्जनभन्दा बढी सडकहरू अवरुद्ध भएका छन्।
कालिगण्डकीको पक्की पुल बगेको छ भने कुलेखानी तथा गड्डाचौकी क्षेत्रमा पनि आवागमन रोकिएको छ। सरकारले क्षतिग्रस्त सडकहरू द्रुत गतिमा मर्मत गरी सञ्चालनमा ल्याउन काम गरिरहेको बताएको छ।
बाढीका कारण राष्ट्रिय प्रसारण लाइनबाट १,०१३.२ मेगावाट विद्युत् आपूर्ति बन्द भएको छ। कालीगण्डकी, मर्स्याङ्दी र सेती-मादी करिडोरका प्रसारण लाइनका टावर ढल्दा ३१८ मेगावाट क्षमताका आयोजना पूर्ण रूपमा ठप्प भएका छन् भने थप जोखिम हुन नदिन ६९५.२ मेगावाट बराबरका आयोजनाहरूको उत्पादन बन्द गरिएको छ।
प्राविधिक टोली खटाएर विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ। साथै, भारी वर्षा र हुरीले किसानहरूको धान र तरकारी बालीमा पनि ठूलो क्षति पुर्याएको छ।
विपद्को जोखिम अझै नटरेकाले नदी तटीय तथा पहाडी क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रधानमन्त्रीले आग्रह गरेका छन्।
कुनै पनि संकट पर्दा टोल-फ्री नम्बर १२३४ मा सम्पर्क गर्न भनिएको छ। यस्तो संवेदनशील समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने वा कालोबजारीमा संलग्न हुनेहरूमाथि कडा निगरानी राखिएको र गैरकानुनी काम गर्नेलाई कारबाही गरिने चेतावनी समेत प्रधानमन्त्री शाहले दिएका छन्।








