images
images

सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो

नवलपरासी (बर्दघाट-सुस्ता-पश्चिम)- अविरल वर्षाका कारण नारायणी नदीको बाढी सुस्तामा पसेपछि स्थानीयलाई नारायणीवारी ल्याइएको छ। पश्चिम-नवलपरासीको सुस्ता गाउँपालिका-५ मा शुक्रबारदेखि बाढी पसेको हो।

जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार सुस्ताको थारु, वडाका टोललगायत क्षेत्रमा बाढी पसेपछि स्थानीय नागरिकलाई सुस्तामा रहेका आश्रयस्थलमा राखिएको थियो।

नारायणीमा बाढीको तह बढ्दै गएपछि ८०० भन्दा बढी नागरिकलाई नारायणीवारि सुस्ता बालिनगरमा रहेको बिपी माध्यमिक विद्यालयमा ल्याइएको उनले बताए। उनले भने, “सुस्तामा २१९ घरधुरीमा एक हजार ४५० भन्दा बढी नागरिक छन् । केही पहिलै आफन्तको घरमा गएर बसेका छन् भने बाँकीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा वारि ल्याउने काम भएको हो।”

“सुस्तावारि आउनका लागि नारायणी नदीमा झोलुङ्गे रहेकामा पुलमा जलसतह बढेपछि केही माथि उकालेर विद्यालयमा पुर्‍याउन ढिलाइ भएको हो”, प्रजिअ नेपालले भने। उद्योग वाणिज्य महासङ्घ नवलपरासी र नवलपरासी रेडक्रसले राहत सामग्री लिएर सो क्षेत्रमा पुगेको उनले बताए।

अहिले गण्डक ब्यारेजमा चार लाख ७९ हजार १०० क्यूसेक पानी मापन गरिएको गण्डक योजना कार्यालय भैसालोटन बाल्मकीनगरका सम्पर्क तथा भूआर्जन अधिकृत सोभित हलुवाईले बताए। रासस